ताजा समाचार

श्रावण २३ गते २०७६

बाघसँग लडेर हिराबहादुरले पाए नयाँ जीवन

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ का हिराबहादुर श्रेष्ठ सदाझै बुधबार पनि गाईवस्तुको गोठमा काम गरिरहेका थिए ।

विहान गोठमा काम गरिरहेका बेला उनलाई एक्कासी बाघले आक्रमण गर्‍यो । केहि सोच्न समेत नभ्याएका उनलाई बाघबाट मुक्ति पाउन लड्नुको विकल्प थिएन । बाघको आक्रमणबाट बच्न सकेसम्म प्रतिकार गरे । प्रतिकार गर्दा पनि बाघको आक्रमण नरोकिएपछि कहाँबाट उनलाई कराउन बुद्धि आयो । अनि ठूलो स्वरमा हारगुहार मागे । हिराबहादुरले चर्को स्वरमा हारगुहार माग्दै कराएपछि बाघ लच्कियो । अनि भाग्यो ।

बाघ भागेपछि हिराबहादुर मृत्युको मुखैबाट फर्किन सफल भए । घाइते श्रेष्ठको अहिले सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको उनकै वडाका वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिएका छन् । 
बाघको आक्रमणबाट श्रेष्ठको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । गएको केही दिनदेखि नै चम्पादेवी गाउँपालिका–२ मा बाघले आतंक मच्चाइरहेको छ ।

स्थानीय मसलीमाया मगरका ९ वटा खसी र झलक मगरका पाँच वटा बाख्रा मारेको स्थानीयले जानकारी दिएका छन् । गाउँमा बाघले अन्य सात जनाका घर गोठमा पसेर २१ वटा बाख्रा मारेको स्थानीयले बताएका छन् । बाघको बिगबिगी बढेपछि स्थानीय त्रसित छन् । उनीहरुले बाघ नियन्त्रण गर्न पनि माग गरेका छन् ।