ताजा समाचार

श्रावण २३ गते २०७६

नौ प्रतिशत नेपालीमा मधुमेह, यस्ता छन् मधुमेहका लक्षण

- खानपानमा ध्यान दिनैपर्ने

खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय विश्वमै मधुमेह रोगको जोखिम बढिरहेको विभिन्न अध्ययनहरूले देखाएको छ ।

नेपालमा ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्कले देखाएको छ ।

परिषदले देशका सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा नसर्ने रोगमा दोस्रो नम्बरमा मधुमेह देखिएको थियो ।

उक्त अध्ययनमा मधुमेहका बिरामी सबैभन्दा बढी प्रदेश ३ मा ११ दशमलव ५ प्रतिशतमा देखिएको छ भने सबैभन्दा कम मधुमेहका बिरामीहरू कर्णाली प्रदेशमा देखिएका छन् । जुन ३ दशमलव २ प्रतिशतमा देखिएको छ ।

त्यसैगरी, प्रदेश १ मा ७ दशमलव ७ प्रतिशत मानिसमा मधुमेह देखिएको छ भने प्रदेश २ मा ८ दशमलब ५ प्रतिशत मानिसमा देखिएको छ । गण्डकी प्रदेशमा ६ दशमलव ७ मानिस मधुमेहबाट ग्रसित रहेका छन् । प्रदेश ५ मा ९ दशमलव ६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ प्रतिशत प्रभावित भएका छन् ।

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योती भट्टराईले पछिल्लो समय खानपान जीवनशैलीका कारण ग्रामिण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा मधुमेह रोग बढी देखिने गरेको बताइन् ।

‘परिवारको कुनै सदस्यलाई मधुमेह भएको छ भने त्यो परिवारको अन्य सदस्यलाई पनि मधुमेह हुने खतरा बढी हुन्छ’, उनले भनिन्, ‘गर्भवती महिलामा मधुमेह भएको छ भने उसको बच्चालाई पनि मधुमेह हुने खतरा बढी हुन्छ ।’

उनले परिवारको कुनै पनि सदस्यलाई मधुमेह देखिएको छैन् भने ३० वर्ष नाघेपछि नियमित रुपमा सुगर चेकजाँच गनुपर्ने बताए । मधुमेह रोग विशेषज्ञ डा. सन्देश पन्थीले पहिला–पहिला ४० वर्ष नाघेपछि देखिने मधुमेह रोग पछिल्लो समय २० वर्ष नाघेपछि नै देखिने गरेको बताए ।

‘कतिपयमा विना लक्ष्ण नै मधुमेह देखिने गरेको छ’, उनले भने, ‘मधुमेहको लक्षण देखिएमा शरिर आलस्य हुने, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, दृष्टिमा समस्या पैदा हुने, जिउ गलेको महसुस हुनु, धेरै मुख सुक्ने खुट्टामा घाउ हुने वा सुनिने र पेटमा समस्या आउने आदि समस्या देखिने हुन्छ ।’

मधुमेह रोग लागेका मानिसले सन्तुलित एवं स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने औषधि र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण एवं व्यवस्थापन गर्न सकिने उनले बताए ।

नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुणा बढी हुने हुन्छ । हरेक स्वस्थ मानिसले वर्षमा १ पटक मधुमेहको चेकजाँच गराउनु पर्ने मधुमेह रोग विशेषज्ञले बताएका छन् ।

मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८ लाख मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय मधुमेह संगठनले जनाएको छ । हाल विश्वमा ४२ करोड मानिसमा मधुमेह रहेको संगठनले जनाएको छ ।