ताजा समाचार

श्रावण २२ गते २०७६

स्कूलले किन रोक्यो सिभिल हाइड्रोको काम ?

विजयपुर खोलमा निर्माणाधीन सिभिल हाइड्रो पावरको काममा अवरोध आएको छ । रामज्योति माविद्वारा संरक्षित एवं भोगचलन गर्दै आएको जग्गामा विना सहमति हाइड्रोले निर्माण कार्य अघि बढाएको भन्दै विद्यालयले निर्माण कार्य रोकिएको हो ।

पोखरा महानगरपालिका वडा नं. २६ र १४ को सीमाना विजयपुर खोलामा विगत २ वर्षदेखि निर्माणकार्य भईरहेको छ ।

सिभिल हाईड्रोपावरलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अटेर गर्दै आएको विद्यालयको आरोप छ । बुधबार विद्यालयको तर्फबाट समस्याको समधान नभएसम्म निर्माण कार्य अघि नबढाउन भन्दै काम रोकिदिएका हुन् ।

विद्यालयको अग्रसरता र सिक्नेरी रिठेपानी विकास निर्माण सरोकार एवं संरक्षण समितिका संयोजक रमेश रानाभाटको नेतृत्वमा गएको टोलीले हाइड्रोको काम रोकेको हो ।

वार्ताबाट समस्याको समाधान खोज्नुको साटो पटक–पटक गरिएको अनुरोधलाई समेत हाइड्रोले वेवास्ता गरेको विद्यालयको आरोप छ ।

यसअघि निर्माण भएको भगवती हाइड्रो पावरलाई विद्यालयले १ सय ४५ रोपनी जग्गा दिने सहमति गरेको थियो । तर सोही ठाउँको दक्षिणपट्टी निर्माण हुँदै गरेको सिभिल हाइड्रोपावरसंग जग्गा दिने कुनै सहमति नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगनाथ तिमिल्सेनाले जानकारी दिए ।

यसैबीच कम्पनीका प्रवन्ध निर्देशक वसन्तमोहन भट्टराईले उक्त जग्गामा कोही कसैको लालपूर्जा नरहेको स्पष्ट पारेका छन् ।

उनले नेपाल सरकारको नाममा रहेको प्रति जग्गामा आफूहरुले सम्वन्धित निकायबाट स्वकृति लिएर नियम र कानुनको दायरामा रहेर काम गरेको बताए । कसैको उक्साहट एवं निहीत स्वार्थ राखेर काम रोक्नु विकास विरोधी कार्य भएको उनको आरोप छ ।

विजयपुर खोलमा ४.५ मेघावाट क्षमताको विद्युत गृह निर्माणका लागि पोखराको वडा नं २६, २७ र १४ भित्र पर्ने जमिन प्रयोग गरी हाईडोपावर निर्माण गर्न लागिएको हो ।


Loading...