ताजा समाचार

श्रावण २२ गते २०७६

महिला पर्यटन व्यवसायी मञ्चको साधारणसभा

पर्यटन क्षेत्रको विकासका लागि आतिथ्यता सत्कारसँगै पूर्वाधार विकासमा जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् ।

महिला पर्यटन व्यवसायी मञ्चको वार्षिक साधारणसभामा मन्त्री पुनले पर्यटकको अधिकारलाई हनन हुनेगरी बसपार्कमा पुगेर पर्यटकको हात समाएर तान्ने संस्कार तोड्नुपर्ने बताइन् ।

उनले पर्यटन क्षेत्रको विकासका लागि संस्कारयुक्त आतिथ्यताको जरुरी औंल्याइन् ।

पर्यटन क्षेत्रमा महिलाको योगदान अतुलनीय रहेको तर आर्थिक रुपान्तरणसँग नजोडिएकाले महिलाको योगदान गौण बनिरहेको उनको भनाइ थियो । उनले महिलालाई आर्थिक सशक्तीकरण गराउन शिक्षा र तालीम आवश्यक रहेको बताइन् ।

सामाजिक विकास मन्त्रालयले दक्ष जनशक्तिका लागि रु ५ करोड बजेटबाट सीपमूलक तालीम प्रदान गरिरहेको मन्त्री पुनले जानकारी दिइन् ।

प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा भन्दा पहिला लेकसाइड भनेर पर्यटक आउने भएकाले पर्यटनमैत्री नीति आवश्यक रहेको बताए ।

फेवाताल विश्वको १३औं सुन्दर ताल रहेकाले यसको सौन्दर्यलाई जोगाउनु सबै पर्यटन व्यवसायीको कर्तव्य भएको उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्र र सरकारको सहकार्य भए पर्यटनबाट छिट्टै आर्थिक समृद्धि हासिल हुने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले लेकसाइड शान्ति सुरक्षासहित आवश्यक पूर्वाधार खडागरी २४ सै घण्टा खुलाउनुपर्नेमा जोड दिए ।

पर्यटन विज्ञ वासु त्रिपाठीले पर्यटन विकासका लागि अब नयाँ सोचकासाथ वृहत अध्ययन गरी अघि बढ्नुपर्ने बताए ।

पर्यटन वर्ष २०२० का निजी क्षेत्रका संयोजक अग्नि कँडेलले स्वर्ग जस्तो पोखराप्रति राज्यले चासो नदिँदा यसलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न नसकिएको बताए ।

वडा नं ६ लेकसाइडका अध्यक्ष जगत पहारी, मितेरी आमा समूहका अध्यक्ष मीरा पौडेल, संस्थाका सल्लाहकार पम्फा पहारी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराई लगायतले पर्यटनको विकासमा दीर्घकालीन योजनाकासाथ अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा महिला पर्यटन व्यवसायी विष्णु गुरुङको सम्पादनमा प्रकाशित ‘साहसी महिला’ पुस्तकको मन्त्री पुनले विमोचन गरेकी थिइन् ।

हरेक क्षेत्रमा रहेका महिलाको योगदानलाई लिपिबद्ध गर्ने सके महिलाको कामको मूल्यांकन हुने सम्पादक गुरुङले बताइन् ।

संस्थाका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रको विकास र महिलाको व्यावसायिक पहिचानका लागि पहल गर्दै संस्थाले विभिन्न क्षमता विकास र प्रर्वद्धनात्मक कार्य गर्दै आइरहेको जानकारी दिइन् ।
संस्थाका उपाध्यक्ष पार्वती पाण्डे लामो संघर्षपछि महिला पर्यटनक्षेत्रमा एकवद्ध भएर अघि बढ्दै गएको बताइन् ।

सो अवसरमा सचिव उमा सुवेदीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।