ताजा समाचार

श्रावण २२ गते २०७६

‘कम्युनिष्ट शासनले देश भ्रष्टाचारको दलदलमा’

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री डा. प्रकाशशरण महतले देश संस्थागत भ्रष्टाचारमा चुलुम्म डुवेको बताएका छन् ।

हिजोका दिनमा व्यक्ति केन्द्रितको भ्रष्टाचार अहिले पार्टी केन्द्रित हुने गरेको उनको भनाई छ । विश्ववाटै पतन हुँदै गएको कम्युनिष्ट शासन व्यवस्थाले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको उनले आरोप लगाए ।

कांग्रेसको शिक्षा नीति वारेमा बुधवार पोखरामा आयोजित एक गोष्ठीमा उनले नेपालमा २ कम्युनिष्ट शक्ति मिलेर मात्र उनीहरू रहेको बताउँदै अन्ततः पतन भएरै छाड्ने दावी गरे ।

‘आफूलाई कम्युनिष्ट भन्ने सर्वसाधारण जनतासँग हरेक वाहनामा कर उठाएर लुटेर खाने सरकार कसरी कम्युनिष्ट सरकार हुन सक्छ?’, उनले प्रश्न गरे ।

अहिलेका कम्युनिष्ट आचरण एउटै भएका भएर नै मेलमिलाप गरी देशमा व्रम्हलुट मच्चाएको आरोप लगाए ।

उनले वर्तमान शिक्षालाई समय सापेक्ष परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने खाँचो औंल्याए । अबको शिक्षा औपचारिकतामा मात्र सीमित नभएर रोजगारसँग सम्बन्धित हुनुपर्ने उनको भनाइ छ ।

देशका नागरिकको आर्थिक उपलव्धी क्षमता र योग्यतासँग तुलना गर्नुपर्नेम भन्दै नेता महतले पार्टीको लक्ष्य एउटै भए पनि लक्ष्यमा पुग्ने अनेक उपाय अवलम्वन गरेर अघि बढ्न सकिने स्पष्ट पारे ।

उनले पार्टीले गरेका राम्रा कामलाई कांग्रेसले विज्ञापन गर्नुपर्ने बताए । पार्टी १४ औं महाधिवेशनको तयारीमा रहेकोले छिट्टै मिति घोषणा हुने भन्दै भदौ २४ गतेदेखि कांग्रेसले दोस्रो चरणको जागरण अभियान संचालन गर्ने भएकोले सबै नेता कार्यकर्ता एक भएर कार्यक्रम प्रभावकारी बनाउन उनले आग्रह गरे ।

उनले पछिल्लो समयमा कांग्रेसका नेताहरू व्यक्ति केन्द्रित भएको बताउँदै पार्टी केन्द्रीत बन्न सुझाव दिए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्रप्रसाद चौधरी, प्रदेश सभा सदस्य विन्दुकुमार थापा, कांग्रेस नेता शुक्रराज शर्मा, महिला संघ कास्कीका सभापति कोपिला रानाभाट लगायतले बोलेका थिए ।