नेकपा, धादिङ-कास्की जनसम्पर्क मञ्चको सक्रियता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–कास्की जनसम्पर्क मञ्चले विभिन्न गतिविधिमा सक्रियता र चासो देखाउन थालेको छ । मञ्चले आफ्नो आन्तरिक विधान तयार गरेर अधिवेशनको तयारीमा जुटेको बताइन्छ । मञ्चले आफ्नो आन्तरिक कार्यलाई सुदृढ बनाउँदै वाहिरी कार्यमा समेत चासो देखाएको छ ।

मञ्चले केही दिनअघि कास्की र धादिङ जिल्लाका पार्टी इन्चार्ज र सहइन्चार्जलाई बधाई ज्ञापन गर्यो । यस्तो भने राष्ट्रिय युवा संघको केन्द्रीय संयोजकमा हालै मनोनित भएका रामप्रसाद सापकोटा दिपशिखालाई मंगलबार एक कार्यक्रम आयोजना गरी बधाई ज्ञापन गर्यो ।

मञ्चले यस्ता कार्यक्रम गरी जिल्ला तथा केन्द्रीय स्तरका नेताहरूको ध्यान खिच्न खोजेको देखिन्छ ।

मञ्च केही महिना अघिमात्र गठन भएको थियो । मञ्च पार्टीको विधान कानून अनुसार नेकपा धादिङबाट जनसम्पर्क कमिटीको मान्यता पाएको दावी गर्दै आएको र यो मञ्च नै आधिकारिक संगठन भएको संयोजक गोकर्ण अधिकारीले बताए ।

उनी भन्छन्, ‘हामीले पार्टीको विधानअनुरुप आवश्यक शुल्क समेत तिरेर संगठन दर्ता गरेका छौं । त्यसैले कास्कीमा हाम्रो संगठन आधिकारिक हो ।’

संयोजक अधिकारी भन्छन्, ‘हामीले विधान तयार गरिसकेका छौं । अब छिट्टै अधिवेशनको मिति घोषणा गर्छौं । अनि नयाँ विधान अनुरुप नै नयाँ टिम चयन गर्छौं । त्यसपछि सदस्यता विस्तार र गाउँपालिकागत रुपमा संगठन पनि विस्तार गर्छौं ।’

मञ्चका सचिव युगमराज अगस्तीले आन्तरिक रुपमा अधिवेशनको तयारी तीव्र बनाएको र अबको बैठकद्वारा मिति तोक्ने जानकारी दिए । ‘हामी अहिले तदर्थ समिति हौं, पार्टीको आधिकारिकता पाएसंगै विधान निर्माण गरेका छौं । उक्त विधानलाई वैठकद्वारा अनुमोदन गरी कास्की र धादिङ दुवै जिल्ला पार्टीलाई पठाउँछौं । अनिमात्र अधिवेशनको मिति तोक्छौं’, उनले भने ।

एकताका लागि छलफल पनि तीव्र
वीरबहादुर थापा नेतृत्वको नेकपा धादिङ–पोखरा जनसम्पर्क मञ्च र गोकर्ण अधिकारी नेतृत्वको कास्की जनसम्पर्क मञ्चबीच एकता प्रयास पनि नभएका होइनन् । यसका लागि पटक–पटक छलफल भएका छन् तर कुरो सकारात्मक छैनन् ।

दुवै मञ्चलाई एकै ठाउँमा ल्याउन मञ्चका अग्रजहरू सक्रियतापूर्वक लागिरहेका छन् । थापा नेतृत्वको मञ्चले भदौ ७ गते भेला कार्यक्रम तय गरेकाले सो अघि नै दुवैलाई मिलाउन अग्रजहरूले प्रयास गरिरहेको बताइन्छ । तर दुवै पक्ष टस न मस छन् ।

छलफलका क्रममा थापा नेतृत्वको मञ्चले कास्की मञ्च विनाशर्त संगठनमा आउनुपर्ने र संगठनको पदीय जिम्मेवारी भने आगामी अधिवेशनबाट तय हुने बताएको छ । पोखरा मञ्च कास्की मञ्चले तयार गरेको विधानलाई आवश्यक संशोधन गरी लागू गर्न तयार देखिएको छ ।

यता, अधिकारी नेतृत्वको मञ्चले धादिङ पार्टीबाट आधिकारिकता पाइसकेकाले संगठनको नाम परिवर्तन हुनुपर्ने माग गर्दै आएको छ ।

साथै उसले आफूहरूले बनाएको विधान लागू गर्नुपर्ने र सोही विधान अनुरुप अधिवेशन घोषणा गरी नेतृत्व चयन हुनुपर्ने अडानमा छ । तर थापा नेतृत्वको पोखरा मञ्च कास्की मञ्चमा जान तयार नभएको दुवैलाई मिलाउन समन्वय गरिरहेका अग्रज बलराम खतिवडा बताउँछन् ।

अधिकारी नेतृत्वले निर्माण गरेको विधान लागू गर्ने र दुवैलाई मिलाएर पदीय जिम्मेवारी दिने गरि आफूले समन्वय गरिरहेको उनले बताए ।

वीरबहादुर थापा

पोखरा मञ्चका अध्यक्ष थापाले आफू मिलेर जान तयार भए पनि कास्की मञ्चका साथीहरूको केही कुरा नमिल्ने खालका रहेको बताए ।

उनले भने, ‘गोकर्ण जीलाई संयोजक बनाएर विधान तयार गर्न राजी छौं । त्यसपछि अधिवेशनमार्फत पदीय जिम्मेवारी मिलाउन पनि तयार छौं । तर पोखरा मञ्च छोडेर कास्की मञ्चमा जाने कुरा सोच्न सकिन्न ।’

‘असन्तुष्टि उहाँहरूको हो, उहाँहरू घर भित्र आउने हो । तर बनेको र भैरहेको घर पूरै ध्वस्त गरी नयाँ घरमा सर्ने कुरा सोच्न पनि सकिन्न । यो हुँदै नहुने र मिल्दै नमिल्ने कुरा हो’, उनले थपे ।

गोकर्ण अधिकारी

यता, कास्की मञ्चका संयोजक अधिकारी संगठनले आधिकारिकता आइसकेकाले यही संगठनलाई अघि बढाऔं र क्षेत्राधिकार फराकिलो बनाएर जाने प्रस्ताव आफूहरुले छलफलका क्रममा राखेको बताए ।

उनले विधान तयार गरिसकेकाले यही विधान अनुसार अघि बढ्नुपर्ने आफूहरूको माग रहेको बताए । उनले थपे, ‘जसको नीति उसैको नेतृत्व आफूहरूको एजेण्डा हो ।’