मेडसिटी-लेखनाथ सिटी सम्झौता

पोखरा र आसपासका बिरामीले यही अन्तर्राष्ट्रिय स्तरको सुपर स्पेसालिटी स्वास्थ्य सेवा पाउने भएका छन् । ललितपुरमा रहेको अन्र्तराष्ट्रिय मान्यता प्राप्त नेपाल मेडिसिटी अस्पताल र पोखरा–२६ बुढीबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटलबीच सम्झौता भएपछि यसो सम्भव भएको हो ।

सम्झौतापछि लेखनाथ सिटीले मेडसिटी हस्पिटलको प्राबिधिक तथा अन्य सहयोग पाउनेछ भने हरेक महिना मेडसिटीका सुपर स्पेसलिस्ट डाक्टरहरुले लेखनाथ सिटीमै आएर पनि सेवा दिने छन् ।

सम्झौतामा मेडसिटीको तर्फबाट महाप्रबन्धक विजय रिमाल र लेखनाथ सिटीका निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका छन् । अझै उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्नको लागि नेपालकै ठुलो र उत्कृष्ट हस्पिटलसँग सहकार्य गरेको लेखनाथ सिटीका निर्देशक उदीपराज ढुंगानाले बताए ।

अब हिप तथा घुँडाका अपरेशनहरु पनि लेखनाथ सिटी हस्पिटलमा अब सम्भब हुने भएका छन् । मेडसिटी हस्पिटलका महाप्रबन्धक रिमालले पोखरा र आसपासमा सेवा दिने उद्देश्यले युवाले सञ्चालन गरेको लेखनाथ सिटीसँग सहकार्य गरेको बताए । उनले नेपालीलाई सबै उपचार सेवा नेपालमै सम्भव गराउने उद्देश्यका साथ मेडिसिटी लागिपरेको बताए । ७ सय ५० वेडको मेडिसिटीले हेलिकोप्टर रेस्क्यु सेवा पनि सञ्चालन गरिरहेको छ ।