ताजा समाचार

श्रावण २२ गते २०७६

कास्की २ को उपनिर्वाचन : कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार !

उपनिर्वाचन अन्तर्गत कास्की २ मा कांग्रेस नेता धनराज गुरुङको पनि चर्चा शुरु भएको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका चर्चित र प्रष्ट वक्ता नेता गुरुङ स्याङ्जा निवासी हुन् । उनले गत निर्वाचनमा टिकट पाउन सकेका थिएनन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा निधन भएपछि कास्की २ रिक्त थियो । यो क्षेत्रमा नेता गुरुङको चर्चा केन्द्रीय तहबाटै भएको हो ।

उपनिर्वाचन मिनी जनमत संग्रह भएकाले सबै क्षेत्रमा कांग्रेसले जित्नै पर्ने नेता गुरुङ बताउछन् । ‘नेकपाको ज्यादति विरुद्ध आवाज उठाउन र उसलाई पाठ सिकाउन पनि यो निर्वाचन महत्वपूर्ण छ । कांग्रेसले जसरी पनि जित्नुपर्छ’, उनी भन्छन्, ‘यो निर्वाचनमार्फत देश विदेशमा सन्देश दिन आवश्यक छ ।’

कांग्रेसले भरपर्दो योजना बनाई सही उम्मेदवार दिन सके निर्वाचन जित्नमा कुनै समस्या नरहेको उनले स्पष्ट पारे ।

‘आफ्नो विषयमा साथीहरूले कुराकानी गरेका छन् तर यो मेरो व्यक्तिगत र कुनै व्यक्तिको कुरा नभई पार्टीको आधिकारिक धारणा भए म तयार छु’, उनले भने, ‘मेरो पहिलो चाहना कास्कीबाटै उम्मेदवार हुनुपर्छ भन्ने हो । तर कास्कीबाट कोही तयार नभए र पार्टीले चाहे म उम्मेदवार बन्न तयार छु ।’

आफू उम्मेदवार बने अवश्य चुनाव जित्ने उनले दावी गरे । ‘मसंग भिजन छ । कुनै दाग लागेको छैन, ममाथि कसैले औंला पनि उठाउन सकेका छैनन् । म कहिल्यै कसैसंग झुकेको छैन । त्यसैले पार्टी र सबैको चाहना भए कास्की २ मा चुनाव लड्न तयार छु’, नेता गुरुङले भने । नेकपाका जोसुकै उम्मेदवार भए पनि आफूलाई केही फरक नपर्ने बताए ।

यता, उम्मेदवारको विषयमा कास्कीमा भने कुनै वहस, छलफल भएको छैन ।

‘व्यक्तिगत रुपमा विभिन्न चर्चा भएका छन्, ति पार्टीका आधिकारीक धारणा होइनन्’, कास्की कांग्रेसका सभापति कृष्ण केसीले भने, ‘समय अझै बाँकी छ, बहस र छलफल हुन्छ । उम्मेदवारको कम्तिमा आफ्नो मतदाता नामावली यही क्षेत्रमा हुनुपर्छ भन्ने पार्टीको मान्यता हो ।’

सत्तासिन नेकपाको तर्फबाट भने नेता बामदेव गौतम, राजकाजी गुरुङ करण, स्व. रवीन्द्र पत्नी विद्या अधिकारी लगायतको चर्चा छ ।

कास्की २ को उम्मेदवारका विषयमा बहस तीव्र छ । यहि बाहिरबाट उम्मेदवार ल्याइए राम्रो शिक्षा सिकाएर पठाउने नेकपाका नेता कार्यकर्ताले छलफल तथा बहस गर्दै आएका छन् ।