ताजा समाचार

श्रावण २२ गते २०७६

७ सहसचिव सचिवमा बढुवा हुँदै, को-को छन् ?

सरकारले ७ सहसचिवलाई सचिवमा बढुवा गर्न गृहकार्य सुरु गरेको छ । उमेर हद र पदावधिका कारण भदौ २१ सम्ममा ७ जना सचिवले अवकास पाउने भएपछि रिक्त हुन आउने पदमा बढुवा तयारी सुरु भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रशासन समूहबाट ४ र प्राविधिक समूहबाट ३ सहसचिव सचिवमा बढुवा हुनेछन् ।

प्राविधिक समूहबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की र खानेपानी मन्त्रालयका दिपेन्द्रनाथ शर्मा साउन २२ मा पदावधि सकिएर अवकास पाउँदैछन् । प्राविधिक समूहकै शिक्षा तथा विज्ञान प्रविधि सचिव कृष्णराज बिसीले उमेर हदका कारण अवकाश पाउँदैछन् ।

प्राविधिक तर्फ सचिवका यी ३ पदमध्ये वरिष्ठतम सहसचिव हैसियतमा ऋषिराज शर्मा स्वतः बढुवा हुनेछन् । सरकारले अन्य दुई सचिवको छनौट प्रतिस्पर्धाका आधारमा गर्ने तयारी गरेको छ ।

प्राविधिक सचिव बढुवामा सहसचिवहरु रविन्द्रनाथ श्रेष्ठ, शिवहरि शर्मा, सागरकुमार राई र सुरेश आचार्य प्रतिस्पर्धामा छन् । बढुवा प्रत्यासी रहेका शर्मा र आचार्यको राजनीतिक पहुँच राम्रो छैन । उनीहरूको बढुवाको दौडमा सशक्त नरहेको स्रोतहरू बताउँछन् ।

स्रोतका अनुसार सरकारले तजबिजी अधिकार प्रयोग गर्दै रामकृष्ण सापकोटा, मणिराम गेलाल र प्रमिलादेवी बज्राचार्यलाई माथि ल्याउन सक्ने सम्भावना प्रबल छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद लम्साललाई अवकाश अगावै ४ वर्षका लागि निजामती कर्मचारी प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेको छ । लम्साल साउन २२ देखि अवकाश पाउँदैछन् ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णराज देवकोटा, लालशंकर घिमिरे, अनिलकुमार ठाकुर र रामकुमार आर्चायले भदौ अन्तिमसम्ममा अवकाश पाउँदैछन् ।

उनीहरुको अवकासपछि खाली हुने ४ पदमा वरिष्ठताका आधारमा सहसचिव तोया नारायण ज्ञवालीले स्वतः सचिवमा बढुवा हुनेछन् । अन्य प्रतिस्पर्धीमा सहसचिवहरु तोयम राया, दिनेश भट्टराई, रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे र एक नारायण अर्याल छन् ।

गृह मन्त्रालयलमा रहेका रामकृष्ण सुवेदी र अर्थ मन्त्रालयमा रहेका तोयम रायाको बढुवा पक्कजस्तै छ । बाँकी एक पदका लागि अन्य सहसचिवको एकआपसमा प्रतिस्पर्धा हुने स्रोतको भनाइ छ ।

सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्के लगत्तै सचिवका प्रत्यासीको सूची पेश गर्ने तयारी भइरहेको छ । मन्त्रालयले नयाँ संगठन सर्वेक्षणका आधारमा आवश्यकताअनुसार सचिव बढुवा गर्नेछ ।

सचिव बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहने बढुवा सिफरिस समितिले एउटा पदमा तीन जनाको नाम सिफारिस गर्नेछ । यसरी गरिने सिफारिसमा पहिलो सूचीमा परेका व्यक्ति नै दोस्रो र तेस्रोसम्म पनि सिफारिस हुनेछन् ।

लोकसेवा आयोगबाट सिफरिस भएर आएका तीनमध्ये कुनैलाई सरकारले सचिव बढुवा गर्नेछ । बढुवाका लागि ज्येष्ठता, कार्य क्षमता र कार्य सम्पादन मूल्यांकनलाई आधार मानिनेछ ।