ताजा समाचार

श्रावण २१ गते २०७६

एउटै पार्टीबाट निर्वाचित मेयर उपमेयरका समूहबीच झडप

धनुषाको हंसपुरमा एउटै पार्टीबाट निर्वाचित मेयर र उपमेयरका २ पक्षबीच झडप भएको छ । नगरपालिकाको केन्द्र मेयर रामज्ञान मण्डलले गोप्यरुपमा सार्ने निर्णय गरेपछि मेयर र उपमेयर बीचको विवादले उग्ररुप लिएको छ ।

मेयर मण्डल र उपमेयर रेणु झा पक्षबीच भएको विवादमा मंगलबार स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका छन् । हंसपुरका मेयर र उपमेयर दुवै राजपाका नेता हुन् ।

मेयर मण्डलले बघचौडामा रहेको नगरपालिकाको कार्यालयबाट सामाग्रीहरु लग्न खोजेपछि उपमेयर रेणु झाले रोक्न खोजिन् । मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नम्बर २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

तपेश्वर मण्डल गम्भिर घाइते छन् । उनको थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको जनाइएको छ । नगरपालिकाको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधर घरेलु हातहतियारसहित दुईवटा टयाक्टरसहित आएको थियो । प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छोडाउनका लागि स्थानीयवासीहले ढुंगामुढासमेत गरेका थिए ।