ताजा समाचार

श्रावण २१ गते २०७६

कुलमान र वर्षमान श्री ३ हुन् ?

 ‘हामीले यति प्रगती गर्यौ भनेर यिनीहरु कुर्लेका कुर्लेई छन् । इण्डियालाई बत्ति बेच्दैछु भन्छन् । हामीलाई बेचिदिनोस् । कृपया जुम्लालाई बेचिदिनोस् तपाईहरु । त्यहाँ पनि जनता छन् । त्यहाँ पनि मोबाईल छ । त्यहाँ पनि पढ्ने विद्यार्थी छन् । त्यहाँ पनि बिरामी छन् । हाम्रा यी श्री ३ महाराजलाई म फेरि भन्न चाहन्छु, तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो ।  जहाँ कमिसन आउँछ त्यहामात्रै सेवा विस्तार गर्छन् भन्ने सुनेको थिएँ । आज मलाई विश्वास लागेको छ । यिनीहरु जहाँ पैसा आउँछ त्यही मात्रै यिनीहरुले सेवा विस्तार गर्दा रहेछन् ।’ यो आक्रोश अरु कसैको नभएर सत्तारुढ दलका सांसदले नै प्रतिनिधि सभा बैठकमा पोखेका हुन् । 

नेकपाका सांसद गजेन्द्रबहादुर महतले उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिदै यसरी आक्रोश पोखेका हुन् । 
प्रतिनिधिसभाको मङ्गलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै आक्रोश पोखेका हुन् । जिल्लावासीको समस्याबारे जानकारी गराउन खोज्दा उर्जा मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले भेट नदिएको सांसद महतको भनाई छ । 

“यति मिडियामा आईसक्यो । यति सामाजिक सञ्जालमा आइसक्यो । यति धेरै हामीले फोन गरिसक्यौ । यति धेरै भेट्न कोशिश गर्यौ हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ । अनि अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन । उर्जामन्त्री । फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाइँदैन ।”   उनले जुम्लाबासीको  समस्यालाई पनि राष्ट्रिय समस्याको रुपमा बुझिदिन आग्रह गरे ।

तर पनि महत रोकिएनन । भने,“यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? यिनीहरुसँग भेट कसरी गर्ने हो ? यिनीहरुसँग हाम्रो जिल्लको समस्या कसरी राख्ने ? के विद्युत् प्राधिकरण छैन यो नेपालमा ? जुम्ला जिल्ला भन्ने छैन ? जुम्ला जिल्लामा १ लाख मानिसहरु बस्छन् ।  मोबाईल चलाउन नपाएर कति गाहे भइरहेको छ । जात्रा आयो । दशैं आयो, तिहार आयो । ”
प्राधिकरण भित्रको कमिसनका बारेमा आफुले सुनेका कुरा सही रहेछ भन्ने लागेको भन्दै उनले भारत बेच्ने भनिएको बिजुली जुम्लालाई बेच्न महतको आग्रह छ ।