ताजा समाचार

श्रावण २१ गते २०७६

देशभरका कोइराला वन्धु पोखरामा, घोषणापत्र जारी

देशभरका कोइरालाहरू पोखरामा भेला भए । महर्षि मुद्गल प्रतिष्ठानको तेस्रो नियमित बैठकमा कोइरालाहरू पोखरामा भेला भएका हुन् । भेलामा १ सय ५४ जना सहभागी भएका थिए । भेलाले पोखरा घोषणापत्र समेत जारी गरेको छ ।

भेलाले संस्थाको यसअघि ५६ जना मात्र संरक्षक सदस्य रहेकोमा अब १ सय जना संरक्षक सदस्य पुर्याउने निर्णय गरेको छ । संस्थाको संरक्षक सदस्यता लिने कोइराला बन्धुले २५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यसैगरी भेलाले प्रादेशिक संगठन तथा आर्थिक विभाग प्रमुखमा नेत्र कोइराला, विनोद कोइराला, जीवनचन्द्र कोइराला र रामजी कोइरालालाई चयन गरेको छ ।

यस्तै मुद्गल महिला समूहमा लुषा कोइराला, मुद्गल आश्रमको गुरुयोजना तयार गर्न ई. लेखनाथ कोइराला, प्रचारप्रसारमा सूर्यप्रसाद कोइराला, धार्मिक एवं सांस्कृतिकमा वासुदेव शरण कोइरालालाई संयोजक तोकेको छ ।

भेलाले चितवनको देवघाटमा निर्माणाधिन मुद्गल बहुउद्देश्यीय भवन र कुल मन्दिर निर्माण कार्यलाई तीव्रता दिने, कोइराला सेवा समाज र मुद्गल प्रतिष्ठानबीच सहकार्य गरेर अघि बढ्ने निर्णय समेत गरेको प्रतिष्ठानका उपाध्यक्ष रामजीप्रसाद कोइरालाले जानकारी दिए ।

भेला कोइराला सेवा समाज केन्द्रीय समितिको आयोजना र श्रीपति कोइराला गुठी कास्कीको व्यवस्थापनमा भएको हो ।

भेलामा गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले कोइराला वन्धुहरूबीचको एकताको सबैले सिको गर्नुपर्ने भन्दै कोइराला वन्धुबीच सम्बन्ध थप प्रगाढ र विस्तारमा जोड दिए । उनले देशभरका सबै कोइराला वन्धुलाई सदस्यता प्रदान गरी एकताको सूत्रमा बाँध्न आवश्यक रहेको समेत बताए ।

सांसद कोइरालाले देशको विकास, राजनीतिक क्रान्ति एवं समाज रुपान्तरणमा कोइराला परिवारको भूमिका महत्वपूर्ण रहेको समेत बताए ।

भेलामा कास्कीका पूर्व प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, कोइराला सेवा समाजका अध्यक्ष माधवप्रसाद कोइराला, समाजका पूर्व उपाध्यक्ष राजेन्द्रनिधि कोइराला, श्रीपति गुठीका अध्यक्ष मोहननाथ कोइराला, कोइराला वन्धु कुमार कोइराला, कृष्णमुरारी कोइराला, हेरम्वप्रसाद कोइराला लगायतले बोलेका थिए ।

प्रतिष्ठानका अध्यक्ष श्रीप्रसाद कोइरालाको अध्यक्षतामा भएको भेलामा स्वागत उपाध्यक्ष रामजी प्रसाद कोइराला र सञ्चालन सचिव रमेश कोइरालाले सञ्चालन गरेका थिए ।

मुद्गल प्रतिष्ठान ‘वन्धु वन्धु मिलौं, विश्व वन्धुत्व बढाऔं’ भन्ने मूल नाराका साथ २०७० सालमा स्थापना भएको थियो ।