ताजा समाचार

श्रावण २० गते २०७६

पोखराका कुन-कुन चोकमा राखिँदैछ ट्राफिक लाइट ?

आगामी मंसिरभित्र पोखराका मुख्य ४ चोकमा ट्राफिक लाइट जडान गरिने भएको छ । मंसिर हुँदै गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै ट्राफिक लाइट जडान गरिने भएको हो ।

सोमबार पोखरामा आयोजित ट्राफिक कोण हस्तान्तरण कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाको यातायात व्यवस्थापन गर्न विस्तृत योजना बनाइरहेको भन्दै आगामी मंसिर भित्रमा पोखराको चिप्लेढुंगा, पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक गरी मुख्य ४ चोकमा ट्राफिक लाइट जडान गर्ने जानकारी दिए ।

उनले सृजनाचोकमा आकाशे पुल र महानगरका मुख्य ठाउँहरूमा सिसिटिभी जडान गर्ने योजना समेत बनिरहेको मेयर जिसीले जानकारी दिए । प्रमुख जिसीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहे पनि महानगरले त्यसको सुधार गर्न तत्पर रहेको बताए ।

उनले भने, ‘पोखराका ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको छ तर हामी यसलाई सुधार गर्न हरपल तत्पर छौं ।’

मेयर जिसी र गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेका थिए ।

महानगरपालिकाको तर्फबाट दिइएको ट्राफिक कोणले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।