ताजा समाचार

श्रावण २० गते २०७६

विप्लव समूहका जिल्ला ईन्चार्ज ढुंगेल पक्राउ, लगाइयो यस्तो मुद्धा

काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई  पक्राउ गरेको छ ।

टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् ।

ढुंगेललाई भम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी कसुरमा पक्राउ गरेको बताए । ‘आगजनी र बिष्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएका हौं’ उनले भने ।

त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । पनौती–४ वाट विप्लव समूहका जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराइले पुष्टि गरे ।

उनीहरुलाई २०७६ वैशाख १ गते विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा बिष्फोटक पर्दाथ राखेर आंतक सिर्जना गरेको आरोपमा पक्राउ गरेको उनले बताए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत काभ्रेवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।