मुख्यमन्त्रीलाई वडाध्यक्षहरूको प्रश्न, ‘हाम्रो हैसियत के हो ?

वडाध्यक्षहरूले आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन् । बाग्लुङस्थित ४ स्थानीय तहका करिब २ दर्जन वडाध्यक्षले गण्डकी प्रदेशका मुख्यमन्त्रीसंग पृथ्वीसुब्बा गुरुङसंग भेट गरी आफ्नो हैसियतबारे प्रश्न गरेका थिए ।

भेटमा उनीहरूले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफूहरूलाई मर्यादाक्रममा समावेश नगरेको भन्दै उनीहरूले हाम्रो हैसियत के हो ? भनी प्रश्न समेत गरेका थिए ।

गृह मन्त्रालयको मर्यादाक्रममा वडा अध्यक्ष र सदस्यहरूको मर्यादाक्रम कहाँ कसरी हुने भनी केही पनि उल्लेख छैन । उनीहरूले वडा सदस्य कार्यपालिका सदस्य बनेपछि केही व्यवहारिक कठिनाई देखिएको विषय समेत मुख्यमन्त्री गुरुङसँग उठाएका थिए ।

कार्यपालिका सदस्य र वडाध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई देखिएको वडा अध्यक्षहरूको भनाई छ । जवाफमा मुख्यमन्त्री गुरुङले नया मर्यादाक्रममा वडा अध्यक्षहरूलाई अन्याय भएको बताए ।

वडा अध्यक्ष मात्र नभएर प्रदेश नीति तथा योजना आयोग जस्ता अन्य सरकारी निकायबारे नै मर्यादाक्रम वेखवर रहेको मुख्यमन्त्री गुरुङले बताए ।

प्रदेशको तर्फबाट आफूले यस विषयमा संघ सरकारसंग कुरा उठाइरहेको जानकारी दिंदै मुख्यमन्त्रीले यस विषय चाँडै अन्त्य हुन आशा व्यक्त गरे । जनप्रतिनिधिहरूले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुनेमा उनले सचेत गराए ।

भेटमा वडाध्यक्षहरूले वडामा आउने बजेट चालु तर्फको मात्र बढी हुने भएकोले विकासको काम गर्न कठिनाई भईरहेको समेत बताएका थिए ।