ताजा समाचार

श्रावण १९ गते २०७६

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिले घुस लिएको पुष्टि

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले घुस लिएको पुष्टि भएको छ ।

कोइरालाले घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियारविरुद्ध एक करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक–पटक गरी एक करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

रौनियारले होस्टल र फार्मेसी भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ विलको भुक्तानी दिँदा पटक–पटक कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै उक्त भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि गएको अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।

अख्तियारका अनुसार उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।