ताजा समाचार

श्रावण १९ गते २०७६

रवीन्द्रको क्षेत्र (कास्की २) मा कांग्रेसबाट को ?

निर्वाचन आयोगले देशभर विभिन्न कारणले रिक्त भएका स्थानमा निर्वाचनको तयारी गरेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुन १५ गते निधन भएको थियो ।

देशैभरका रिक्त स्थानमा मंसिर १४ गते उपचुनाव गर्ने तयारी भएको छ । अधिकारी निर्वाचित भएको कास्की २ मा पनि मंसिर १४ गते चुनाव हुनेछ । मिति तोकिएसँगै यहाँ को उठ्लान् भन्ने चर्चा पनि सुरु भएको छ । नेकपाबाट यो क्षेत्रमा करिब दर्जन आकांक्षी देखिएका छन् ।

रवीन्द्र पत्नी विद्या भट्टराईसहित नेताहरु सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की लगायतको चर्चा छ । नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई उठाउन सक्ने पनि नेकपाभित्र चर्चा छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो क्षेत्रमा कसलाई उठाउला भन्ने चासो छ । उपनिर्वाचन भएकाले केन्द्र स्तरबाटै यसको निक्र्याेल हुने सम्भावना छ । गतनिर्वाचन लडेर रवीन्द्र अधिकारीसँगै पराजित भएका देवराज चालिसे र अघिल्लो निर्वाचनमा पराजित भएका शोभियतबहादुर अधिकारी आफूहरुले मौका पाउनुपर्ने पक्षमा देखिएका छन् ।

यस्तै, रंगिला आचार्य, खेमराज पौडेल, वीरेन्द्रनारायण बिजुक्छे, लक्ष्मी पाण्डे लगायतले पनि टिकटका लागि लबिङ गरिरहेको स्रोत बताउँछ । गएको निर्वाचनमा १३ उम्मेदवारमध्ये ११ जनाको जमानत जफत भएको थियो ।

कास्की २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छन् । गएको चुनावमा तत्कालीन एमालेका रवीन्द्र अधिकारी २७ हजार २ सय ७ मतका साथ विजयी भएका थिए । कांग्रेसबाट उनका प्रतिस्पर्धी बनेका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।