ताजा समाचार

श्रावण १९ गते २०७६

आज नागपञ्चमी : यस्ता छन् नागपूजा गर्नैपर्ने कारण र पूजा गर्ने विधि

आज नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो । नागपञ्चमी श्रावण महिनामा शुक्लपक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ ।

व्रतको विधि : नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नुपर्दछ । व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लो चापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

यसरी गरौं पूजा : नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टास्नाले सर्प भए हुदैन भन्ने हिन्दूशास्त्रको मान्यता छ । नेपालका दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिनदेखि हिउँद लाग्छ भन्ने भनाई छ । नेपालको सुदूर तथा मध्यपश्चिममा नागपञ्चमीका दिन कागजमा नाग, बिच्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ ।

पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन ब्राह्मणले कागजमा विभिन्न नागहरू जस्तैः बासुकी नाग, तक्षक नाग, कर्कट नाग, पद्म नाग, कालिय नाग, शेष नाग इत्यादि नागहरूका चित्र हातले अथवा छाप (स्टैम्प) मा छापेर यजमानका घर घरमा बाँड्दछन् । यसरी नागका चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शंख, चक्र, गदा, पद्म, माछा र बिच्छीका चित्र पनि समावेश हुन्छन् ।
साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ । यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् । आफूले बनाउन जान्दैन भने अरूसँग बनाई माग्छन् । भोलिपल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ ।

यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मिक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन छ ।

नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ । नागपञ्चमीका दिन व्रतालुले ५ वटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरी पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :
नाग स्तोत्र
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमाः ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सवर्दा ।१ ।
इन्द्रलोकेषु ये सर्पाः वासुकी प्रमुखादयः ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।२ ।
कद्रबेयाश्च ये सर्पाः मातृभक्ति परामा ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।३ ।
इन्द्रलोकेषु ये सर्पाः तक्षका प्रमुखादयः ।
नमोस्तुतेभ्यः सर्पाः सुप्रीताः मम सर्वदा ।५ ।
सत्यलोकेषु ये सर्पाः वासुकिन च रक्षता ।
नमोस्तुतेभ्यः सर्पास् सुप्रीताः मम सर्वदा ।६ ।
मलये चैव ये सर्पाः कर्कोतक प्रमुखादयः ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।७ ।
प्रार्थव्याचैव सर्पेभ्यः ये साकेत वासित ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।८ ।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।९ ।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।१० ।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनः ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।११ ।
रसातंलेषु ये सर्पाः अनन्तादि महाबलाः ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।१२ ।
नागमन्त्र पाठ गर्न असम्भव भए ‘ॐ कुरुकुल्ये हुँ फट स्वाहा’ मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ ।

नागगायत्रीको मन्त्र (ॐ नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात) को समेत १ माला (१०८ पटक) जप गर्ने गरिन्छ । यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रशन्न हुन्छन् भन्ने विश्वास छ । नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपूजाको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ । नागपूजाका दिन यी सम्पूर्ण कृत्य गर्न सक्दा ‘कालसर्प योग’ दोषको शान्ति पनि हुन्छ ।

नाग पूजा गर्नाले सर्पको डर हुदैन त ?
हुन त सबै चाड पर्वहरू मनाउनुको पछाडि कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावणशुक्लपक्षको पञ्चमी तिथिमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ । यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिच्छी आदि बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो ।

हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुशी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न भन्ने छ । यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन् ।

बर्षायाममा घर वर पर ठूला ठूला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ ।
अर्को कुरा साउन भदौ तिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ ।

यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वरपर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन् । मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आशँगन सफा गर्छन् ।

यसरी घर आँगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन । यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुँदैन भन्ने कुरा शतप्रतिशत सत्य मानिन्छ ।

नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र
‘अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी । एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते ।।’

घरको जग खन्दा नागको शिर विचार : नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रीय विधान रहेको छ । नागको शिरमा खन्दा आफूलाई पिडा, पछाडि खन्दा छोरा र पत्नीलाई दुःख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ । भाद्र, आश्विन र कार्तिकमा पूर्व । मंसिर, पुष र माघमा दक्षिण । फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ ।

कालसर्प योगको कारण र त्यसको निवारण : ज्योतिषमा योगको महत्व हुन्छ । ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योगहरू छन् त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ । ती नराम्रा मध्येको २ स्थानमा रहेको योग हो कालसर्प योग जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषीहरूको छ ।

के हो कालसर्प योग ?
मानिसको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु (छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो ।

अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हुन्छन् तब यस्तो योगको निर्माण हुन्छ । यसको निवारण गर्न निम्न उपाय अपनाउन सकिने ज्योतिषहरूको तर्क छः
१. त्रिपिण्डी श्राद्ध : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजीकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नस क्नु हुनेछ ।
२. मृत्युञ्जय जाप : कम्तिमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्धारा गराउने ।
३. नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ ।

कालसर्प योगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन ।

अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन–अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन् ।

तर सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्योतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ ।