ताजा समाचार

श्रावण १८ गते २०७६

अली मियाँ प्रतिष्ठानमा हनिफकै नेतृत्व

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानको साधारणसभा एवं अधिवेशनले फेरि हनिफ मियाँकै अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिमा उपाध्यक्ष हरिदेवी कोइराला, सचिव पद्यराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन र सहसचिव धर्मराज पौडेल अल्पायु छन् ।

१३ सदस्यीय समितिका सदस्यमा मेनकाजी गुरुङ, सरिता गायक, लोकचन्द्र खनाल, पद्मराज उदासी, कृष्णप्रसाद गौतम, बालकाशी गुरुङ, रवीन्द्र माकाजू र फजल मियाँ छन् । कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले अली मियाँ पोखराकै परिचय भएको बताए । उनले साहित्य, संस्कृति र स्रष्टाको योगदान संरक्षण गर्न वडा कार्यालय र महानगर लागिरहेको बताए ।
\
प्राज्ञ प्रजापति पराजुलीले नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाउन सबैको एकीकृत प्रयास आवश्यक भएको बताए । उनले भने, ‘राम्रो भए आफूले गरेको, केही विकृति आए अरुले गर्दा भन्ने चलन हट्नुपर्छ ।’ संगीतकार नवराज बरालले विश्व परिवेशसँगको सम्पर्कसँगै नेपाली साहित्य, संगीत र जनजीवनमा नयाँपन आए पनि मौलिकता जोगाउनै पर्नेमा जोड दिए । उनले पैसा कमाउन जे पनि गर्ने सर्जक र मौलिक र परम्परालाई जोगाउन लागेका सर्जक अब पाठक, दर्शकले छुट्याउनुपर्नेमा जोड दिए ।

युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले अली मियाँको योगदानलाई जनसमक्ष लैजान र नेपाली साहित्य, संगीतको उत्थानमा प्रशंसायोग्य काम गरिरहेको बताए । प्रतिष्ठानका सल्लाहकार प्राडा रविलाल अधिकारीले अली मियाँको नाममा स्थापना भएको प्रतिष्ठानले नेपाली संगीत र साहित्यको उत्थानमा उल्लेख्य काम गरेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, सचिव पद्यराज ढकाल, निर्वाचन समिति संयोजक प्राडा यमबहादुर पौडेल क्षेत्री, समिति सदस्य शिवप्रसाद गौतम लगायतले बोलेका थिए । साधारणसभामा लोककवि अली मियाँकी छोरी बसिरा खातुनले गीत सुनाएकी थिइन् ।

सोही कार्यक्रममा वडाध्यक्ष लामाले ‘आँगनीको डिल’ बोलको तीजगीत सार्वजनिक गरे । नवराज बरालको शब्द, संगीत र लय रहेको गीत शान्ति गुरुङ, लक्ष्मी गिरी, उषा माता, दुर्गा गुरुङ, पिंगला भट्ट, सुकु हिराचन, कमला अर्याल र तारा थापाले गएका छन् ।