ताजा समाचार

श्रावण १८ गते २०७६

पोखरामा महिला फुटबलसँगै साग महिला क्रिकेट पनि

पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ । कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरिक्षणपछि राष्ट्रिय खेलुकद परिषदले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने सम्भावना बढेको हो । पोखरामा आयोजना गर्ने सम्भावना बढेपछि आवश्यक पुर्वाधार समेत मैदान मर्मत सम्भारको गृहकार्य शुरु गरिएको छ ।

क्रिकेटका मुख्य प्रशिक्षक जगत टमटाले मैदान निरिक्षण गर्दै प्रारम्भिक चरणमा गर्न सकिने कामको मात्रै शुरु गर्नुपर्ने बताए । ‘चरणबद्ध काम गर्नुपर्छ । सागको तयारीमा छौं । सबै काम साग अघि भ्याउँदैनौ ।’ उनले भने–‘ अहिले मैदानको लेभलिङ र विकेटको पीच तयार गरिने छ ।’ उनका अनुसार नोभेम्बरको अन्तिम सातासम्म मैदान संरक्षण गर्न ८ फिट अग्लो इनर फेन्सिङ(तारजाली लगाउने काम अघि बढाईने छ ।

तीन महिनाभित्रमा क्रिकेट पीचलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय मापदण्ड अनुसार मैदान संरक्षण गर्न तारजाली लगाउनुपर्ने खाँचो चारैतिरबाट उठिरहेकै छ । त्यसैले पनि मैदान संरक्षणको पहिलो सर्त अनुसार तारजाली लगाउने त्यसपछि मात्रै ड्रेनेजको काम गरिने तय गरिएको छ । डे«नेजभन्दा अघि सागको लागि अस्थायी चेन्जिङ रुम र शौचालय बनाउनुपर्नेमा प्रशिक्षक टमटाले ध्यानाकर्षण गराए । ‘खेलाडीलाई चेन्जिङ रुम र शौचालय अनिवार्य बनाउनुपर्छ ।’ उनको भनाई थियो ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पोखरामा साग अन्तर्गत महिला क्रिकेट समेत आयोजना गर्ने सम्भावना रहेको उल्लेख गरे । ‘पोखराा सात खेल आयोजना गर्ने तय गरिएको थियो । तर क्रिकेट(महिला) पनि थपिने सम्भावना छ ।’ उनले भने–‘त्यसको लागि आवश्यक पुर्वाधार बनाउन फाष्ट ट्रयाकमा काम गर्नुपर्छ ।’ उनले काममा गरिने ढिलाईले समस्या बढाउने भन्दै कामलाई फाष्ट ट्रयाकबाटै टुग्याउँदै लैजानुपर्नेमा जोड दिए । उनकै नेतृत्वमा पोखरा रंगशालामा सरसफाई अभियानदेखि पार्किङ व्यवस्था र सुरक्षा व्यवस्थान गर्ने सम्बन्धमा छलफल भईरहेको छ ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा रंगशाला क्रिकेट मैदान अन्तराष्ट्रिय खेलकुद भेन्यु बन्न सक्ने स्पष्ट पारे । पोखरा रंगशाला क्रिकेट मैदानको लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रिय खेलकुद परिषदले ३ करोड र गण्डकी प्रदेश सरकारबाट २ करोड रुपैयाँ बजेटविनियोजन गरिएको छ । ‘छुट्टाइएको बजेटले क्रिकेट मैदानमा आवश्यक पुर्वाधार निर्माणको काम अघि बढाउन सकिन्छ ।’ उनले भने–‘तर साग अघि पीच मर्मत र तारजाली बाहेक अन्य काम गर्न भने सकिने अवस्था छैन् ।’ उनका अनुसार खेलकुदको इन्जिनियरकै सहयोगमा डिजाईन अनुसार नै काम गरिने छ ।

मैदानलाई परिषदले गत आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकमबाट पोखरा रंगशाला फुटबल मैदान निर्माणको क्रममा निस्किएको ढुंगे माटो क्रिकेट मैदानमा हालिएको थियो । हालिएको माटोलाई सम्याउन उक्त बजेट खर्च गरिएको थियो । खर्च गरिएको बजेटबाटै मैदानको आकार केही फराकिलो बन्न पुगेको छ । निर्माणाधिन पोखरा रंगशालास्थित फुटबल मैदानमा महिला साग फुटबल हुने छ । ह्याण्डबल, भारोत्तोलन, आर्चरी, प्याराग्लाईडिङ र ट्रायथोलन पोखरामा आयोजना गरिने यस अघि नै तय भईसकेको थियो ।

kheladinews.com