ताजा समाचार

श्रावण १८ गते २०७६

पोखराबाट गाई-गोरु तस्करीको जालो, कहाँबाट कहाँसम्म ?

- प्रहरीले बरामद गरेका गाईगोरु फिर्ता

पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखराबाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ ।

झापा पुर्याएपछि ती गाई गोरु सिधै बंगलादेश तस्करी गर्ने एउटा गिरोह नै फेला परेको छ । सो गिरोहले मासिक ३ ट्रक गाई गोरु तस्करी गर्दै आएको छ ।

ना ५ ख १४०४ नम्वरको मालवाहक ट्रकमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै ती गाई गोरु तस्करी गरिएको भेटिएको छ । त्यो गिरोहसँग पोखरा महानगरका केही कर्मचारी समेत संलग्न देखिएका छन् ।

महानगरका माथिल्लोदेखि तल्लो तहसम्मका केही कर्मचारीले तस्करसँग सेटिङ मिलाएर यिनै गाई गोरु तस्करी गर्दै आएको भेटिएको छ । महानगरबाट मासिक ३ ट्रक गाई गोरु तस्करी हुँदा समेत महानगर कै अन्य कर्मचारी र जनप्रतिनिधिले पत्तो पाउँदैनन् । गाई गोरु सेटिङ गरिदिए वापत यी कर्मचारीले तस्करबाट मोटो रकम अशुल्ने गरेको महानगर स्रोतको दावी छ ।

यसैगरी पोखरामा बुधवार रातको १२ बजे पक्राउ परेका २२ वटा गोरु जिल्ला पशुसेवा कार्यालय कास्कीले पुनः वडा प्रहरी कार्यालय वैदाम मै फिर्ता गरेको छ ।

पोखराको वडा नं २३ को चलानी अनुसार पामेबाट पोखरा ल्याउँदा पक्राउ गरिएका १ ट्रक गोरु कार्यालयले शुक्रवार फिर्ता गरेको हो ।
वडा प्रहरी कार्यालय वैदामले स्थानीयवासीको दवावमा वुधबार मध्यरातमा नियन्त्रणमा लिएका १ ट्रक गोरु बिहीवार पशु कार्यालयमा लगेर बुझाएको थियो ।

यसरी बझाएका गोरुको सब स्वास्थ्य ठिक छ भन्ने पत्र पोखरा पामेका गोरु संकलक प्रेमवहादुर थापालाई थमाउँदै पशु कार्यालयले शुक्रवार गोरु फिर्ता गरेको हो । उनै प्रेमवहादुरले महानगरका कर्मचारीको मिलेमतोमा गाउँमा रहेका गाई गोरु संकलन गरी तस्करलाई बुझाउने विचौलियाको भूमिका निभाउँदै आएका छन् ।

‘मलाई गोरु खोजिदिन भनेपछि मैले खोजिदिएको हुँ । दुःख गरेपछि केही नपाए त के अर्थ भो र ?’, थापाले भने । गोरु संकलन गरिदिए वापत तस्करले थापालाई पनि पैसा दिने गरेको उनकै भनाइबाट प्रष्ट हुन्छ ।

यता, पशु कार्यालयले दिएको गोरुको स्वास्थ्य ठीक छ भन्ने पत्रमा गोरु जोत्न वा अन्य प्रयोजनका लागि ठीक भन्ने वारे केही खुलाइएको छैन । यद्यपि पोखरा–२३ ले भने गोरु व्यवसायिक प्रयोजनका लागि भन्दै पत्र थमाएको छ ।

‘हामीले गोरुको स्वास्थ्य मात्र हेर्ने हो सबै ठिकै देखियो’ पशु स्वास्थ्य अधिकृत ठगेन्द्रप्रसाद अर्यालले भने ।

यसरी एउटै ट्रकमा खाँदेर राखिएका २२ वटा गोरु झापाको मेची नगर नगरपालिका लैजान लागिएको थियो । त्यहाँबाट यी गोरु सिधै वंगलादेश लैजाने र मासु र छालाको रुपमा प्रयोजनमा आउने व्यापारीहरू बताउँछन् ।

उनीहरूले पोखराको पामेवाट प्रति गोरु ९ हजारदेखि १५ हजारसम्ममा खरिद गरेको बताएका छन् । यी गोरु झापा पुर्याउँदा एउटाको गोरुको ६० हजार रुपैययँ पर्ने उनीहरूको भनाई छ ।

पोखरा महानगरपालिका भित्रका गाई गोरु अपचलनमा महानगरकै कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ । यसरी गोरु अपचलन गर्ने गिरोहले मासिक ३ ट्रक गाई गोरु हेटौंडा र झापा लैजाने गरेको विभिन्न प्रमाणहरू फेला परेका छन् ।

पछिल्लो दिनमा पोखरा १४ स्थित कान्जी हाउसवाट नै ३ ट्रक गाई गोरु वाहिर पठाएको कान्जि हाउसमा कार्यरत कर्मचारी रेशम जिसीले वताए । ‘हामीले माथिवाट पत्र आएपछि नि:शुल्कै पठाउँछौ तर बाहिर के के हुन्छ हामीलाई थाहा हुँदैन’, उनले भने ।

महानगरले नै पटक–पटक महानगरका गाई गोरु अपचलन गर्न आधिकारिक पत्र सम्वन्धित व्यक्तिलाई थमाएको भेटिएको हो । महागरका सूचना अधिकारी गंगालाल सुवेदीको हस्ताक्षर गरिएको पत्रमार्फत नै पछिल्लो समयमा पोखराबाट गाई र गोरुको तस्करी मौलाएको देखिन्छ ।

यही साउन १० गते हेटौंडा उपमहानगरपालिका १९ मा रहेको श्री लक्ष्मी चौपायाका संचालक भनिने भीमबहादुर सोनारलाई उनले ३५ वडा गाई लैजाने अनुमति पत्र दिएका थिए । सो पत्रको चलानी नम्वर २३७ रहेको छ ।

त्यसैगरी यही साउन १२ गते नै उनै गंगालाल सुवेदीले पुनः चलानी नं २९५ को पत्रमा सोही फर्मका संचालक भीमबहादुर सोनार भनेर पत्र थमाएका छन् । यो पत्रमा पनि उनले थप ३५ गाई लैजाने अनुमति दिएको प्रमाण फेला परेको छ ।

यसरी एउटै फर्मलाई दिएका २ वटा चलानी नम्वरमा संचालकको थर भने फरक फरक पारिएकोे छ । एउटा पत्रमा संचालकको नाम भीमबहादुर सार्की र अर्को पत्रमा भीमबहादुर सोनार लेखिएको छ ।
हानगरपालिकाले पछिल्लो एक सातामा पोखराबाट ९२ वटा गाई गोरु अपचलन गरी पोखरा बाहिर पठाएकोे देखिएको छ । यसमा कास्की, तनहुँ, चितवन र मकवानपुरका ट्राफिक कार्यालयलाई वोधार्थ समेत पठाएको छ ।

महानगर अनभिज्ञ
गाईगोरुको तस्करुको यत्रो ठूलो सञ्जाल चलिरहँदा जिम्मेवार निकाय पोखरा महानगरलाई अत्तोपत्तो छैन । जहाँकी मेयर मानबहादुर जिसी समेत अनभिज्ञ छन् ।
मेयर जिसीले पोखराबाट बाहिर पठाउन लागिएका गाई गोरुको वारेमा आफू अनभिज्ञ रहेको बताएका छन् । उनले भने, ‘गाई गोरुको विषय के रहेछ मैले बल्ल थाहा पाएँ, अब बुज्छु ।’

छाडा चौपायाँको बिगबिगी, खोरेत देखियो

पोखरा महानगरपालिका क्षेत्रमा छाडा चौपायाँको बिगबिगी नै छ । गाईको दूध आउन्जेल दूध खाने र व्यापार गर्ने दूध आउन छोडेपछि ती चौपायाँ घर धनीले सडकमा छोड्दै आएका छन् ।
महानगरले पनि व्यवस्थित कान्जिहाउस बनाउन सकेको छैन ।

पोखरा–१४ मा बनाएको कान्जिहाउसमा ४५ वटा चौपाया शुक्रबार पोखरीको पानीमा उभिएका थिए । केही गाईमा खोरेत देखिएको कर्मचारी रेशम जिसीले बताए ।

पोखरा महानगरपालिका क्षेत्रमा छाडा चौपायाँको बिगबिगी नै छ । गाईको दूध आउन्जेल दूध खाने र व्यापार गर्ने दूध आउन छोडेपछि ती चौपायाँ घर धनीले सडकमा छोड्दै आएका छन् ।
महानगरले पनि व्यवस्थित कान्जिहाउस बनाउन सकेको छैन ।

पोखरा–१४ मा बनाएको कान्जिहाउसमा ४५ वटा चौपाया शुक्रबार पोखरीको पानीमा उभिएका थिए । केही गाईमा खोरेत देखिएको कर्मचारी रेशम जिसीले बताए ।

अत्यधिक गर्मी भएका कारण कहिल्यै आहाल नबस्ने गाई पोखरीको पानीमा दिनभरि उभिनु अनौठो मानिएको छ । महानगरले छाडा चौपाया व्यवस्थापनका लागि वार्षिक ६ लाख रुपैयाँ विनियोजन गर्दै आएको छ । महानगरमा पटक–पटक छाडा चौपाया व्यवस्थापनको कुरा उठ्ने गरेको छ ।

तर छाडा चौपायाँ व्यवस्थापनको वाहनामा महानगर कै केही कर्मचारीले व्यवस्थापनको बहानामा गाई गोरु तस्करी गरेर आफ्नो अभिष्ट पूरा गर्दै आएका छन् । ‘छाडा चौपाया व्यवस्थापन भनेको तस्करसंग मिलेर कटहीमा फाल्ने होइन’, गौरक्षा अभियानका अभियान्ता ठाकुर बरालले भने । देशलाई धर्म निरपेक्ष बनाएर गाईको हत्या गर्न स्थानीय सरकार नै लागि पर्नु दुभाग्र्य भएको उनले बताए ।

धार्मिक संस्था र सामाजिक संघ–संस्थाको विरोध
यता, विभिन्न धार्मिक संस्था र सामाजिक संघ–संस्थाहरूले पोखराबाट खुलेआम हुँदै आएको गाई तस्करीको विरोध गरेका छन् ।

‘हामीले भलाममा गाई व्यवस्थापन गर्छौ भन्यौं तर महानगरले त्यसमा सहयोग गरेन । यस्तो धन्दा रहेछ र पो हामीलाई सहयोग नगरेको रहेछ’, गौरक्षा अभियानका अभियान्ता सुजनबावु पौडेलले भने ।

नेपालको झापा समथर जिल्ला हो । जहाँ खेती किसानी ट्याक्टर लगाएरै गरिन्छ । व्यवसायिक प्रयोजन भन्दै लाने गरिएका यी पहाडमा जोतेर थाकेका बूढा गोरु, दूध थाकेका बूढा गाई र जर्सीका साँढे कसरी व्यवसायिक प्रयोजनमा आउँछन् यो प्रश्न भने सधैं अनुत्तरित छ ।

(यो समाचार पत्रकार कमल पौडेल अथकले पनि लेखेका छन्)