ताजा समाचार

श्रावण १८ गते २०७६

मोदी भ्रमणको तयारीका लागि चौथाईवाले नेपालमा, के के गर्दैछन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकादेखि चीनसम्मको भ्रमणलाई सफल पार्ने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् ।

निकट भविष्यमा भारतीय प्रधानमन्त्री मोदीले गर्न लागेको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् ।

यसअघि प्रधानमन्त्री मोदीले दुई पटक नेपालको राजकीय भ्रमण गरेका थिए । सो भ्रमणका तयारीका लागि पनि उनी नेपाल आएका थिए । प्रधानमन्त्री मोदीले के बोल्ने के नबोल्ने कुराको तय गर्न चौथाईवाले केही दिन नेपालमै बसेर यसको तयारी गर्ने बुझिएको छ ।

खसगरी उनले पार्टीको लाइनबाट प्रधानमन्त्री मोदीले भारतीय प्रवासीको लागि के के कुरा राख्ने भनेर उनी तयारी गर्छन् । प्रधानमन्त्री मोदीको कुनै देश भ्रमणको तय भएपछि उनी एक हप्ता अगाडि नै त्यहाँ पुग्ने गर्छन् । सरोकारवालाहरुसँग भेटेर त्यहाँको मनोविज्ञान थाह पाएर भाषण तयार गर्ने गरेको जानकारहरु बताउँछन् ।

मोदीले जनकपुर भ्रमण गर्दा चौथाइवाले त्यहाँ आएर एक हप्ता पहिलादेखि नै बसेका थिए । त्यहाँका स्थानीय नेता, पत्रकार, भारतीय मुलका व्यक्ति, उद्योगपतिहरुसँग छलफल गरेका थिए । र, उनकै टीमले तयार पारेका भाषण मोदीले बाह्र विघामा वाचन गरेका थिए ।

त्यतिबेला उक्त भाषणको निकै चर्चा भएको थियो । भाषणमा स्थानीय कला सँस्कृतिको सम्बोधन गर्दा धेरै स्थानीय छक्क परेका थिए । मोदीले यतिसम्मका जानकारी राख्छन् भनेर धेरैले आश्चर्य प्रकट गरका थिए ।

चौथाइवालेले मोदीले के बोल्ने के नबोल्ने भन्ने विषय निर्धारण गर्ने मात्र होइन, कार्यक्रमको व्यवस्थापन पनि गर्ने गर्छन् । के आकर्षण नारा दिँदा, वा के गर्दा मोदीको कार्यक्रममा धेरैभन्दा धेरै मान्छेको उपस्थिति हुन्छन् भन्ने योजना बनाउने काम पनि उनैले गर्ने गरेका छन् ।

उनले मोदी भ्रमण जाने देशमा रहेका भारतीयहरुलाई पनि जोड्ने काम गरेका हुन्छन् । उनी जुन देशमा गएपनि भारतीय प्रवासीहरुसँग विभिन्न समूहमा कुरा गर्ने गर्छन् । भाजपाको सोशल मिडियाका राष्ट्रिय संयोजक समेत रहेका चौथाइवालेले नेपालमा मोदीको उपस्थितिलाई सफल बनाउन ठूलो भूमिका खेलेको बताइन्छ ।

मोदी पहिलो पटक नेपाल भ्रमण गर्दा सदनमा नेपाली भाषा प्रयोग गर्नु, बानेश्वरमा ओर्लेर जनतासँग हात मिलाउन उनकै दिमागको उपज रहेको भारतीय जनता पार्टी निकटस्त बताउँछन् ।

भाजपका तत्कालिन अध्यक्ष अमित शाहका माध्यमबाट भाजपामा जोडिएका चौथाईवाले भाजपाका महासचिव राम माधवको साथमा रहेर प्रधानमन्त्री मोदीलाई विदेशमा रहेका भारतीय समक्ष पुर्याएका छन् । माइक्रोबायोलोजीमा पीएचडी गरेका चौथाईवा सन् २०१४ मा भएको लोकसभा चुनावमा मोदीको चुनावी रणनीति बनाउने टिममा छिरेका थिए ।

भारतीय दूतावास स्रोत भन्छ, ‘भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने कुरा भइरहेको छ तर हालसम्म त्यसको केही टुङ्गो लागेको छैन ।’ तर चौथाइवाला नेपाल आउनु भनेको प्रधानमन्त्री मोदीको भ्रमण हुने संकेत रहेको दूतावास स्रोत बताउँछ ।

यता, नेपाल भारत मित्रता समाजका अध्यक्ष प्रेम लस्करीले चौथाइवाले आफ्नो कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएको बताए । त्यसपछि उनको अन्य के–के कार्यक्रम रहेको बारे आफ्नो जानकारीमा नरहेको पनि बताए । नेपाल भारतको सम्बन्धमा आयोजना गरेको कार्यक्रमम उनलाई प्रमुख अतिथि बनाइएको छ ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने भएपछि भाजपाका नेता तथा सरकारका प्रतिनिधिहरुको नेपाल आउने जाने क्रम शुरु भएको छ । रअ प्रमुख गोयल फर्केर गएपछि भाजपाका नेता एवं राज्यसभा सांसद सुब्रमण्यम स्वामी नेपालको भ्रमण गरेका छन् । उनी यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किसकेका छन् ।

अहिले चौथाइवाले नेपाल आएका छन् । चौथाइवालेको यो तेस्रो नेपाल भ्रमण हो ।

भारतीय रअ का प्रमुख सामन्त गोयल नेपालको भ्रमण गरेर फर्केपछि प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने तय भएको बताइएको छ । मोदीले अगस्तमा भुटान भ्रमणमा जानेछन् भने १७ सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रको साधारणसभामा भाग लिनेछन् ।  यी दुई कार्यक्रम सकाएर मात्र नेपालको मिति गरिने स्रोतको दावी छ ।

मोदी अघि विदेश मन्त्री एस.जयशंकर पनि नेपाल आउनेछन् ।  जसरी मोदीको भुटान भ्रमणको तयारीका लागि जसरी विदेश मन्त्री एस.जयशंकर भुटान गएका थिए, त्यसरी नै नेपाल आउन लागेका हुन् । भारतस्थित विदेश मन्त्रालय स्रोतका अनुसार केही दिनमै एस.जयशंकरको नेपाल भ्रमण हुँदैछ । त्यसका लागि नेपालस्थित भारतीय दूतावासका कर्मचारीलाई एलर्ट गराइसकेको स्रोतले जनाएको छ ।