क्या मज्जा ! कर्मचारीलाई घुम्न जान २५ हजार

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ ।

प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई १ हप्ता घुम्नका लागि भन्दै रु २५ हजारका दरले रकम उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको जानकारी दिए ।

नेपालभित्र धेरै सुन्दर ठाउँ रहेकाले त्यस ठाउँको पर्यटन प्रवद्र्धन गर्न कर्मचारीलाई ‘रिफ्र्समेन्ट’ पनि हुने भएकाले यो सुविधा प्रदान गर्न लागिएको मन्त्री लम्सालको भनाइ छ । उनका अनुसार घुम्न गएका कर्मचारीले नेपालभित्रका जुनसुकै स्थानमा जान पाउने र भ्रमणपछि उक्त स्थानको फोटो तथा भ्रमण प्रतिवेदन पेश गर्नुपर्नेछ ।

गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारीको दरबन्दी रहेकामा १ हजार ७ सय कर्मचारी अहिले कार्यरत छन् । पर्यटनलाई प्रमुख समृद्धिको आधार मानेर गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सात महीना बितेको छ ।

प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पूर्वाधार विकास वर्ष र २०२२ लाई वृहत प्रदेश पर्यटन वर्षको रूपमा मनाउने योजना अघि सारेको छ ।

सन् २०२२ सम्म गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना प्रदेश सरकारको छ । विसं २०७५ माघ ९ गते घोषणा गरिएको आन्तरिक भ्रमण वर्षको ७ महीना बितेपछि गत असार १७ गते बसेको पहिलो बैठकले जुद्ध गुरुङलाई कार्यक्रम संयोजक तोकेको थियो ।

प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिका प्रमुख स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायी, नागरिक समाज सम्मिलित १ सय ५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।