ताजा समाचार

श्रावण १७ गते २०७६

सूर्यचन्द्र विकास समाज तीजगीत तथा खेलकूद प्रतियोगिता गर्दै

पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले यस वर्ष पनि तीजगीत तथा महिला खेलकूद प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रम यहि भदौ १३ गतेदेखि १६ गतेसम्म हुने भएको हो ।

समाजले यसअघि ६ पटकसम्म यस्ता प्रतियोगिता आयोजना गरिसकेको छ । वडा कार्यालयले यसवर्ष भड्किलो तीजमुक्त क्षेत्र घोषणा गरेको छ । समाजले यो घोषणालाई पूर्ण कार्यान्वयन गर्ने उद्घोष समेत गरेको छ ।

संस्थाका अध्यक्ष केदार प्रसाद कोइरालाले समाजले लोकगीत र लोकसंस्कृतिको जगेर्ना तथा निरन्तरता दिने, गीत र नृत्यबाट सामाजिक र नैतिक सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

साथै जनचेतचना अभिवृद्धि गर्ने, नयाँ कलाकारलाई उर्जा तथा प्रोत्साहन दिने, जनसेवाको भावना वृद्धि गर्ने, खेलकूदमार्फत महिला स्वास्थ्यमा सुधार ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष कोइरालाले बताए ।

तीज गीत प्रतियोगितामा प्रथम हुनेले २० हजार ५, द्वितीय हुनेले १५ हजार ५, तृतीय हुनेले १० हजार ५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी खेलकूदतर्फ छात्रा भलिवलमा प्रथमले २० र द्वितीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्रास्त गर्ने प्रचार–प्रसार संयोजक कृष्णप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार तीज गीत प्रतियोगितामा उत्कृष्ट नृत्य, भेषभूषा र उत्कृष्ट नृत्य गर्ने दर्शकले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका प्रचारप्रसारमा कृष्णप्रसाद बराल, आर्थिक समितिमा हेमराज भण्डारी, मञ्च तथा साउण्ड व्यवस्थापनमा गोविन्द पराजुली, स्वयंसेवक परिचालनमा दीपक बराल लगायतलाई विभिन्न व्यक्तित्वलाई उपसमिति संयोजक चयन गरिएको छ ।

यसैगरी प्राथमिक उपचारमा सावित्री कोइराला, तीजगीत प्रतियोगिता व्यवस्थापनमा कमला गौतम, निर्णायक मण्डल छनोट समितिमा वसन्तराज भण्डारी, अतिथि सत्कारमा कल्पना क्षेत्री, खाजा नास्तामा महेश्वर बराल, श्रष्टा सम्मान छनोटमा कृष्णप्रसाद पराजुली, व्यानर व्यवस्थापनमा कमला सुनार, खेलकूदमा सुशिल केसी, अनुगमन तथा मूल्यांकनमा रामजी बराल र सल्लाहकारमा कृष्णमूणि भूर्त्याल संयोजक छन् ।

प्रतियोगितालाई नमूना आदर्श, चिन्तनशील, सहनशील लगायत विभिन्न दर्जन बढी संघसंस्थाले सघाउने प्रतिवद्धता जनाएको अध्यक्ष कोइरालाले बताए ।

प्रतियोगिताका लागि करिब ७ लाख खर्च लाग्ने अनुमान गरिएको आर्थिक संयोजक हेमराज भण्डारीले बताए ।