ताजा समाचार

श्रावण १७ गते २०७६

पोखरामा फुले दाजुका ‘टाँकीका फूलहरु’

संखुवासभा, धरानतिरका टाँकीका फूलले दाजु गुरुङलाई लोभ्याए । अहिले हङकङमा बसोबास गर्ने उनले पहिलो कथा सञ्चयनको नाम राखे ः टाँकीका फूलहरु । पूर्वी नेपालसहित पोखरा, पर्वत, र हङकङको परिवेश बोल्ने १७ कथा रहेको कृतिबारे पोखरामा शुक्रबार चर्चा भयो ।

हेमराज पहारी स्ृमति प्रतिष्ठान पोखराको आयोजना र हङकङ साहित्यिक साझा शृंखलाको सहआयोजनामा पोखरेलीमाझ दाजुका कथाबारे बहस भएको हो । कार्यक्रममा साहित्यकार सरुभक्तले मानिस जहाँ पुग्छन्, सँगसँगै संस्कृति, साहित्य र चालचलन पनि पुग्ने बताए । उनले पूर्वी पहाडको दुर्गम ठाउँमा जन्मेर अहिले हङकङमा रहेका सर्जकको पुस्तकबारे पोखरामा चर्चा हुनु सराहनीय भएको बताए ।

उनले आख्यान लेखन निकै कठिन भएको चर्चा गर्दै जीवनमा गरिने अनुभूतिहरु नै आख्यान भएको बताए । उनले भने, ‘जीवन नै आख्यान हो । आख्यान लेखन जीवन जस्तै जीवन्त बन्न लामो साधना र तपस्या जरुरी छ ।’
युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले कथाकार गुरुङलाई नेपालीका भोगाइ चित्रण गर्ने साहित्यकारको रुपमा चिनाए । समीक्षक लक्ष्मी थापाले प्रवासीका पीडा र नेपालीका संवेदना एकसाथ कथामा भेटिने उल्लेख गरिन् । अर्का समीक्षक फडिन्द्र अकिञ्चनले कथाकारले हङकङका नेपालीको जीवन, त्यहाँका उतरचढाव र नेपालीको अवस्था मिहिन रुपमा चित्रण गरेको बताए ।

प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेले संखुवासभामा जन्मेर, सुनसरीमा अध्ययन र हाल हङकङमा रहेका नेपालीले पोखरा र आसपासका कथा पनि किताबमा लेख्नुले साहित्यकार सीमामा नबाँधिने प्रष्ट भएको बताइन् । उनले प्रतिष्ठानले नेपाली साहित्यको उत्थानका लागि विभिन्न क्रियाकलाप गरिरहेको उल्लेख गरिन् । प्रतिष्ठानका उपाध्यक्ष गोबिन्दराज पहारीले स्वागत गरेको कार्यक्रम सञ्चालन साहित्यकार गौरी तमुले गरेकी थिइन् ।