ताजा समाचार

श्रावण १७ गते २०७६

चितामा चढाउनै लाग्दा आँखा खोलेपछि….

अस्पतालमा श्रीमती उपचारको विल संघ–संस्थामा सहयोग मागेर तिरेर फर्केपछि पाल्पा सिद्धेश्वर गाउँका  सुर्यचन्द्र ज्ञवाली साउन ६ गतेका दिन अब श्रीमतीको किरियाक्रमको खर्च कसरी जुटाउने भन्ने चिन्तामा थिए ।  तर एउटा चमत्कार के भयो भने माया मारेर रिडीघाट पुर्याइएकी उनकी श्रीमतीले अर्धजल चढाउने बेलामा एक्कासी आँखा खोलिन् ।

अन्ततः उनको त्यो पीडा खुशीमा परिणत भयो ।  त्यसको १० दिन बीचमा उनको दाम्पत्य जीवन कुनै कथानक चलचित्र जस्तै बन्यो । फिल्मी कथा जस्तो लाग्ने यो घटना हो पाल्पाको  रैनादेवी छहरा गाउँपालिका १, सिद्धेश्वर गाउँको । त्यस गाउँका ४० वर्षीय सुर्यचन्द्र ज्ञवालीकी  ३६ वर्षीय श्रीमती नम्रता ज्ञवाली साउन ६ गते रिडीघाटबाट नवजीवन लिएर फर्किइन् ।  

घाटबाट फर्काइएपछि उनलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा  उसै दिन ल्याएर भर्ना गरियो । मलामी गएका मध्येका स्थानीयवासी शिवप्रसाद न्यौपाने भन्छन्– ‘उनलाई झाडा पखलाको बिमारले सिकिस्त पारेपछि असार २५ गते सुरुमा मिशन अस्पताल लगिएको थियो । परिवाजनले आश मारेर रिडीघाटको पौवामा लगेर अर्धजल चढाउन थालिएको थियो ।

अर्धजल चढाए पछि उनी जागिन् । त्यसपछि प्रभास अस्पताल ल्याएर भर्ना गरियो । उनलाई प्रभासमा छाडेर म काठमाडौंतिर लागे । त्यसको दश दिनपछि हिजो साँझ सोही अस्पतालमै मृत्यु भएपछि म घाट गएर फर्केको छु ।’

त्यस वडाका वडाध्यक्ष सोमबहादुर दर्लामी भन्छन्, ‘यस भेगमा यो एकदम अनौठो घटना हो । यसअघि घाट लगेर फर्काएको कुनै घटना हामीले सुनेका थिएनौं ।  घाट लगेर फर्काएको मैले सुनेको मात्र हुँ, म आफु भने गइन । उनी बिरामी छँदा अस्पताल भेट्न भने गएको थिएँ । ’

हामी अपराधी बन्थ्यौं होलाः मलामी

‘छिमेकी र मानवियताको नाताले म साउन ६  गते मिशन अस्पतालमा सुर्य भाई र उनकी श्रीमती रमिता बहिनीलाई भेटन गएको थिएँ’ स्थानीयवासी थानेश्वर कँडेल भन्छन्– ‘रमिता बहिनीको अवस्था एकदम कमजोर देखे । नाडी छामेपछि मैले माया मारे । त्यसपछि डाक्टरलाई सोधें । डाक्टरले ठिक होला जस्तो छैन । घर लगे जित्नुहुन्छ भन्ने सल्लाह दिए । अक्सिजन नछुटाउनुहोला, छुटाइयो भने मृत्यु हुन्छ भनिएको थियो ।

 त्यसपछि डिस्चार्जका लागि तयार भइयो । त्यस अस्पतालमा बिल ७६ हजार पुगेको रहेछ । हामीसँग बैंकमा जम्मा १७ हजार मात्रै थियो । त्यसमध्ये जम्मा १५ हजार मात्रै निकाल्न मिल्ने थियो  । हामीसँग पैसा पुगेन । त्यसपछि त्यहाँको सामाजिक सेवा केन्द्रमा सहयोग माग्न पुग्यौं ।  उसले ५६  हजार मिलाइदियो । त्यो १५ हजार दियौं । त्यसमा आनकानी हुन थालेपछि बिरामी यहि छाडेर जान्छौं भन्यौं । पछि  कुराकानी मिलाएर गाडीमा ल्याएर आयौं ।’

हाडथोकतिरबाट गाडी जाँदैन भने ड्राइभरले । यसो विचार गरियो । कोही घाट लगेका मान्छे पनि फर्काएको सुनिएको छ । सिँधै रिडी लैजाउँ  भनियो र गइयो । उनलाई राखेर एकघण्टा जति सुतौं भनियो । मैले गाउँतिर फोन गरेर जानकारी गराई सकेको थिएँ । उनीहरु अर्कै किसिमले (मलामी बनेर) एक गाडी आउँदै थिए ।

नम्रतालाई १० मिनेट जति पौवामा लगेर राख्यौं । एक जग पानीले उनको मुखमा छम्कियौं । पानी छम्किन साथ नम्रता बहिनीमा चमत्कार आयो । पेट ढाडिएको थियो । उनले विस्तारै आँखा खोलेर हेरिन् । लाग्यो जाने बेलामा यस्तै हुँदैरै’छ क्यारे ।  हामीहरु खुशी पनि भयौं र डरायौं पनि । हामीले त्यसरी पानी नछम्केर चितामा दाहसंस्कार गर्न लागेको भए अथवा केहि मिनेट मात्रै छिटो गरेर आगो लगाएको भए हामी अपराधी नै हुन्थ्यौं होला । यस्तो चमत्कार त मैले देखेकै थिइन । यो चमत्कार कालिगण्डकीकै चमत्कार हो भन्छु म । त्यहाँबाट फर्काएर लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरेका हौं ।’

फिलिमको कथा जस्तै लागेको छ : श्रीमान

नम्रताका श्रीमान सुर्यचन्द्र ज्ञवालीले गलाअवरुद्ध पार्दै भने–‘मलाई त फिलिमको कथा जस्तै लागेको छ । हामीले उनलाई रिडी लैजाँदा मुटुको ढुक्ढुकी मात्रै चलेको थियो । बाँच्लिन् भनेर एकरत्ति आशा नभएरै रिडी लगेका हौं ।  एक्कासी उनी जागिन् । खुशी लाग्यो । फर्काएर प्रभासमा उपचार गराई रहेका बेला हिजो साँझ करिव ४ बजेतिर उनको मृत्यु भयो । पहिला मरेर बाँचेर झुक्काइन्, अहिले साँच्ची कै मरेर झुक्काइन् ।’
मेरो आर्थिक अवस्था एकदम कमजोर छ । घर चलाउन मुस्किल परेपछि उनले स्कुलमा ४ हजार ५ सयको  जागिर खान्थिन् । मैले एउटो भैंसी पालेर किसानी गर्छु ।  उनको मृत्युपछि मेरो उपाय केही छैन ।

किरियाक्रमको कुनो चलाउनै मुस्किल

उनका श्रीमान सुर्यचन्द्र ज्ञवाली सामन्य गरिव किसान परिवारका हुन् । आर्थिक अवस्था कमजोर भएका कारणले पनि आफुले स्थानीय एक मन्दिरमा पुजारीको काम गर्थे भने श्रीमती नर्मता सिद्धेश्वर महादेव प्राथामिक विद्यालयमा विद्यालय सहयोगीका रुपमा काम गर्दै अएकी थिइन् ।

त्यस विद्यालयका प्रधानध्यापक भानुभक्त भट्टराईले उनी गत १० बर्षदेखि मासिक ४५ सय तलवमा विद्यालय सहयोगी रहँदै आएको बताए । उनका अनुसार उनको माइतीघर अर्घाखाँचीको खिदिम पोखराथोक हो । 

उनका दुुई छोरा र एक छोरी छन् । सबैभन्दा कान्छी छोरीको उमेर ४ बर्ष रहेको छ । मृत्युको मुखबाट फर्केकी आमा बाँचेको खुशीमा छोरा छोरीहरु रमाइरहेका थिए । तर  वडाध्यक्ष दर्लामीका अनुसार शुक्रवार विहानदेखि उनका  १८ र अर्का १४ वर्षीय छोरा आमाको किरियाक्रमको कुनोमा बसेका छन् ।  ज्ञवाली परिवारमा किरिया खर्च समेत चलाउन मुस्किल भएपछि स्थानीयवासीले सहयोगको अपिल गरेका छन् ।-रातोपाटी