ताजा समाचार

श्रावण १७ गते २०७६

सुत्केरी महिलालाई ३ हजार, किरिया खर्च ५ हजार

ओखलढुंगाको सुनकोसी गाउँपालिकाले सुत्केरी महिलालाई भत्ता दिने निर्णय गरेको छ । नियमित स्वास्थ्य परीक्षण गराई स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले ३ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको हो ।

चालू आर्थिक वर्षबाट गाउँपालिकाले सुत्केरी स्याहार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नियमित स्वास्थ्य जाँच गराई बर्थिङ सेन्टरमा शिशु जन्माउने महिलाले मात्रै सुत्केरी भत्ता पाउने निर्णय गाउँ कार्यपालिका बैठकले गरेको अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।

अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले नवजात शिशुको स्याहार सुसारका लागि सुत्केरी आमालाई एक हजार रुपैयाँ दिएको थियो । यसलाई परिमार्जन गरेर यस आर्थिक वर्षबाट सुत्केरी स्याहार कार्यक्रम लागू गरिएको हो ।

मृतकका परिवारलाई किरिया खर्च दिने कार्यक्रमलाई सुनकोसी गाउँपालिकाले यस वर्ष पनि निरञ्तरता दिएको छ । गत आर्थिक वर्षबाट गाउँपालिकाले प्रतिमृतक परिवार पाँच हजार रुपैयाँ दिन थालेको हो । यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष अधिकारीले जानकारी दिए । गएको आर्थिक वर्ष ३० जनाभन्दा वढी परिवारले किरिया खर्चबापत गाउँपालिकाबाट पाँच हजारका दरले रकम बुझेका छन् ।