ताजा समाचार

श्रावण १६ गते २०७६

विप्लव माओवादीको विवाद उत्कर्षमा, स्थायी समिति र पोलिटब्युरो भंग !

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी समिति र पोलिटब्युरो भंग गरिएको छ । अन्य १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त बनाइएको छ ।

पार्टीका नेताहरु धमाधम पक्राउ परिरहेका बेला विप्लव समूहको पार्टीको माथिल्लो निकायका कमिटी भंग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, कमाण्ड भने यथावत् राखिएको छ ।

आन्तरिक र बाह्य संकटको सामना गरिरहेको विप्लव नेतृत्वको नेकपाका नेताहरुले भने पार्टीमा शुद्धीकरण अभियान चलाउन स्थायी समिति र पोलिटब्युरो भंग गरेको बताएका छन् ।

विप्लव समूहको पाँच सदस्यीय स्थायी समिति, ११ सदस्यीय पोलिटब्युरो र ३५ सदस्यीय केन्द्रीय समिति थियो ।

विप्लव समूहका एक नेताका अनुसार पोलिटब्युरो सदस्य भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । वीरजंग चन्द विप्लवकै दाइ हुन् ।

केन्द्रीय सदस्यहरु शंकर खड्का, देवीदत्त पाण्डेय, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विक, आजाद केसी, आरपी तिमिल्सेना, सन्तोषी बिक, कृष्ण अधिकारी, रामप्रसाद तिमल्सिना लगायत १७ जनालाई जिम्मेवारीबाट मुक्त गरिएको छ । उनीहरुलाई खुला मोर्चामा पठाउने निर्णय गरिएको जिम्मेवारीबाटै हटाइएका एक नेताले बताए ।

यस्तै, पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमलालाई भने केन्द्रीय सदस्य समेत नरहने गरी जिम्मेवारीमुक्त गरिएको छ ।

एक नेताले भने, ‘‘यो पार्टी शुद्धीकरण अभियान हो । यस्तो युद्धकालीन अवस्थामा पनि तत्कालीन माओवादी पार्टीले गर्दै आएको थियो । यसले पार्टीलाई बलियो बनाउँछ ।’’

ती नेताका अनुसार पार्टीका कतिपय गोप्य सूचना समेत ‘लिक’ हुन थालेपछि केही समयमा लागि शुद्धीकरण अभियान थालिएको हो । केही दिनअघि बसेको विप्लवसहितको स्थायी समिति बैठकले पार्टीका गोप्य सूचना चुहाएको भन्दै केही नेता, कार्यकर्तालाई पार्टीबाटै बर्खास्त समेत गरेको छ । 

सरकारले गत फागुन अन्तिम साता सो समूहमाथि प्रतिबन्ध लगाएपछि झण्डै सात सयजना पक्राउ परिसकेका छन् । जसमा ३० जनाभन्दा बढी जिल्ला इञ्जार्जकै हैसियतमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला इञ्जार्ज, स्थायी, पोलिटब्युरो सदस्य नै पक्राउ पर्न थालेपछि विप्लव समूहमाथि आन्तरिक सुरक्षाको चुनौती बढ्दै गएको थियो ।