ताजा समाचार

श्रावण १३ गते २०७६

आज आउँदै कक्षा १२ को परीक्षाफल, यसरी हेरौं नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।

परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको हो ।

विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग-अलग समयमा प्रकाशन गर्ने गरिएको थियो । तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट सहभागी ४ लाख परीक्षार्थी परीक्षाफलको पर्खाइमा छन् ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो।

मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए।

गतवर्षदेखि सबै संकाय र विषयकोनतिजा एकैदिन गर्ने गरिएको छ। त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो।

यसरी हेरौं नतिजा 

नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।

नतिजा सार्वजनिक भैसकेपछि  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।