ताजा समाचार

श्रावण १२ गते २०७६

नेपालको दूर्दसा, सुम्पियो सिंगापुरलाई अबको यात्रा, समर्थक निकै निराश

बलिङ, व्याक्टिङ दुवै चल्न नसकेपछि आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल सिंगापुरसँग पराजित भएसँगै ग्लोबल क्वालिफायर पुग्ने सपना समाप्त भएको छ ।

एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । २१ बल खेलेका ज्ञानेन्द्र ४ चौका र ३ छक्का प्रहार गर्दै विजयकुमारमार्फत बोल्ड भएका थिए ।

दिपेन्द्रले २२ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का १२ रनमा आउट हुँदा शरद भेषवाकर ७ रन बनाए । सोमपाल कामीले ११ रन बनाउँदा विनोद भण्डारीले ९, रोहित कुमार पौडेलले ५ रन बनाएका थिए ।

सन्दीप लामिछाने र करण केसीले खाता नै खोल्न सकेनन् । नेपालका खेलाडीलाई सस्तैमा समेट्न सिंगापुरका विजय कुमारले ४ विकेट लिए । बिनोथ बसक्रनले २ विकेट लिँदा अम्जाद महबो, जनक प्रकाश र अन्नथ कृष्णको नाममा १–१ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९२ रनको लक्ष्य दिएको हो ।

सिंगापुरका लागि टिम डेभिडले अर्धशतक बनाए । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मदतमा ७७ रन बनाए । सिंगापुरलाई फराकिलो रनतर्फ डोर्याएका टिम अभिनास बोहराको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच भए ।

रोहन रङगराजन अर्धशतक बनाउन १ रनले चुके । ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी पनि अभिनास बलमा शरद भेषवाकरमार्फत क्याच भएका थिए । मनप्रित सिहंले ४२ रन बनाए । २७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका मनप्रित करण केसीको बलमा दिपेन्द्रसिहं ऐरीमार्फत क्याच भए ।

ओपनर सुरेन्द्रन चन्द्रमोहन ८ रनमा पवेलियन फर्किएका चेतन सूर्यवंशीले खाता नै खोल्न सकेनन् । ७ बल खेल्दै २ चौका प्रहार गरेका चन्द्रमोहन करण केसीको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच हुँदा चेतन अभिनासको शिकार भए ।
अनिस परम ९ रनमा अबिजित रहँदा अन्नथ कृष्णले १ रन तथा जनक प्रकाशले कुनै रन न जोड्न सकेनन् ।

नेपालका अभिनास बोहराले ४ विकेट लिए । करण केसीका नाममा २ विकेट रह्यो । जितसँगै सिंगापुरले युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।

नेपाल पराजित भएसंगै नेपाली समर्थकहरू निकै निराश भएका छन् । नेपालको क्रिकेटले चंकिलो भविष्यको संकृत गर्दै गर्दा समर्थक नेपालीहरू निकै हौसिएका थिए । तर आइतबार सिंगापुरसंग पराजित भएर आगामी बाटोमा अघि बढ्न नसकेपछि समर्थक निराश भएका हुन् ।