ताजा समाचार

श्रावण ११ गते २०७६

विजयपुरको बेलिव्रिजबाट विमानस्थलको सामान ल्याउन नपाउने !

- विमानस्थल निर्माण कम्पनीले बनायो डाइभर्सन

पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि बेलिब्रिज (पुल) सञ्चालनमा ल्याइएको छ । विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बिम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवत-जावत रोक लगाइएकामा शनिबार साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए ।

गत फागुनमा पक्की पुल जीर्ण भएको पाइएपछि १० टनभन्दा माथिका गाडीलाई खोलामाथि डाइभर्सन निर्माण गरेर वारपार गरिएकामा पटक–पटकको बाढीले अस्थायी डाइभर्सनमा क्षति पुर्याउँदा मालबाहक सवारी ठप्प बनेको थियो । पछिल्लो पटक यही साउन ६ गते बाढीले डाइभर्सनमा क्षति गर्दा ठूला साधन गगनगौँडामै अलपत्र परेका थिए ।

कतिपय साधन वैकल्पिक बाटोबाट तथा कतिपयले स्याङ्जा हुँदै पोखरा प्रवेश गरेर पर्वत, बागलुङ, म्याग्दीलगायतको गन्तव्यमा पुगेका थिए । बेलिब्रिज सञ्चालनसँगै लामो समयदेखि बीचबाटोमा अलपत्र परेका मालबाहक साधन आ–आफ्नो गन्तव्यतिर लागेका छन् ।

पटक–पटक बाढीले डाइभर्सन बगाएपछि त्यसको मर्मतलाई छाडेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको थियो ।
कार्यालयका अनुसार २ लेनको सो बेलिब्रिज पुल ५० मिटर लामोे र भारबहन क्षमता १ सय टन रहेकोछ ।

बेलिब्रिज निर्माणका लागि सडक कार्यालयले रु २ करोड २० लाख लागतमा सगरमाथा/जेजे ज्वाइन्ट भेन्चर कम्पनीसँग सम्झौता गरेको थियो । बेलिब्रिज अस्थायी पुल भए पनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने बताइन्छ ।

संगै डाइभर्सन

पोखरा विजयपुर खोलामा हालै निर्माण भएको नयाँ पुल (बेलीब्रिज) ले पनि पोखरा विमानस्थलको निर्माण सामाग्री बोक्ने गाडीहरु चल्न नपाउने भएपछि चिनिया कम्पनीले पुनः एक दिन मै डाइभर्सन पुल बनाएको छ ।

बर्खायामको समयमा पटक–पटक अस्थायी डाइभर्सन पुल बनाउन जुट्दै आएको चिनिया कम्पनीले पोखराको विजयुर खोलामा बेलीब्रिज निर्माणपछि पोखरा विमानस्थलको निर्माण सामाग्री ओसार–पोसार गर्ने आशा गरे पनि बेलीब्रिजले आफ्ना सवारी साधनको प्रयोग हुन नपाउने भएपछि पुनः डाइभर्सन पुल निर्माण गरेको हो ।

बेलीब्रिज (पुल) मा ३५ टन भारवान क्षमताका मालबहाक सवारी साधन संचालनमा रोक लगाएसंगै यसबाट पोखरामा निर्माण हुँदै गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई प्रत्यक्ष असर पर्ने भएकोले विकल्पमा डाइभर्सन पुल निर्माण गरिएको हो ।

मोटरेबल पुल जोखिमका कारण त्यसको विकल्पमा हाल बेलीब्रिज निर्माण भए पनि त्यसबाट समेत पोखरामा निर्माण हुँदै गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई खासै उपयोग नहुने बताइन्छ ।