ताजा समाचार

श्रावण ११ गते २०७६

सिंगापुरलाई उसकै मैदानमा पछार्न सक्ला नेपालले ?

टि–२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आइतबार नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन् । खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो । खेल नेपाली समय बिहान ७ः१५ बजे सुरु हुनेछ ।

आफ्नै मैदानमा सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि–२० विश्वकप ग्लोबल छनोट खेल्नेछ ।

टि–२० अन्तर्राष्ट्रिय वरीयतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो । प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोस्रो खेल नतिजाविहीन रहँदा १/१ अंक बाँडेको थियो ।

तेस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थिए जसपछि दोस्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेस्रो खेलमा कुवेतलाई ७ विकेटले नै पराजित गरेको थियो ।

सिंगापुर–नेपाल नतिजा
इतिहासको कुरा गर्दा नेपाल र सिंगापुरले सिंगापुरसंग हालसम्म ३ वटा टि–२० खेल खेलेको छ । त्यसमध्ये २ वटा नेपालले जितेको छ भने एउटा खेल वर्षाले नतिजाविहीन रहेको थियो । सिनियर स्तरमा हालसम्म टि–२० र एकदिवसीयमा सिंगापुरले नेपाललाई पराजित गर्न सकेको छैन ।

पाँचौ स्थानको लागि भएको खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले १९.४ ओभरमा ८९ रनमै सबै विकेट गुमाएपछि नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो । बिनोद दास र सन्जम रेग्मीले ३÷३ विकेट लिंदै सिंगापुर इनिंग ध्वस्त बनाएका थिए ।

ब्याटिंगमा दिपेन्द्र चौधरीले ४९ रन तथा नरेश बुढायरले ३२ रन बनाएपछि नेपालले सहजै जित हाँसिल गरेको थियो ।

समूह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले टि–२० क्रिकेटमा पहिलो पटक र अन्तिम पटक २ सय रन माथिको योगफल तयार गरेको थियो । २० ओभरमा २१/५ को योगफल बनाउने क्रममा बिनोद भण्डारीले विस्फोटक ५४ रन बनाएका थिए ।

यस्तै पारस खड्काले ४४, ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले समान ३०/३०, तथा शरद भेसावकरले २६ रन बनाएका थिए । २ सय ११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८९ रनमै सबै विकेट गुमाउन पुग्यो । बसन्त रेग्मीले ३ विकेट, शक्ति गौचनले २ विकेट लिएका थिए ।

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । सिंगापुरको लागि ओपनर चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए ।

मनप्रित सिंह र सिधान्तले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । नेपालको बलिंगमा सन्दिप लामिछानेले ४ विकेट तथा करन केसी र सोमपाल कामीले ले २÷२ विकेट लिएका थिए ।

नेपालले ब्याटिंग सुरु गर्दा ३ बल मात्रै खेलेको थियो जुन समयमा वर्षाले खेल रोकिएको थियो । खेल पुनः सुचारु हुन नपाएपछि दुवै टिमले १/१ अंक बाँडेको थियो । संयोगले उक्त खेल पनि अघोषित फाइनल जस्तै रहेको थियो । तर वर्षाले खेल पूरा हुन नसकेपछि नेट रनरेटको आधारमा नेपाल प्रतियोगिता विजेता भएको थियो ।