सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव, ३ घाइते

अत्यधिक रक्तश्रावका कारणले पोखरामा सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा छोरा जन्माएकी थिइन् । उनको शुक्रबार बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले दोषी चिकित्सकले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन् । बच्चाको अवस्था भने सामान्य छ ।

मृतकका भाइ वसन्त थापामगरले सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान ८ बजे अस्पताल भर्ना गरिएको र बेलुका बच्चाको जन्म भएपछि लामो समय रक्तश्राव नरोकिएको जानकारी दिए । रक्तश्राव भएकाबारे पटक पटक चिकित्सकलाई जानकारी गराउँदा केही समयपछि ठीक हुने बताएर यसलाई गम्भीररुपमा नलिँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ ।

रक्तश्राव रोकथामका लागि प्रयास नगरेको र ढिलो गरी चार पोका रगत माग गरेको तथा पाठेघरको शल्यक्रियाका कारणले गर्दा नै सुत्केरीको ज्यान गएको आफन्तको आरोप छ । अस्पताल स्रोतले भने रक्तश्राव रोकथामका लागि हरसम्भव प्रयास गर्दा पनि सफल नभएपछि अन्तिम विकल्पका रुपमा पाठेघरको शल्यक्रिया गरिएको जनाएको छ ।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गरेको थियो । सुत्केरीलाई बचाउन प्रयास गर्दा गर्दै नसकिएको उपचारमा डा. पुनले बताएकी छन् ।
घटनाको निष्पक्ष छानबिन गरी उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने भन्दै आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा झडप हुँदा ३ जना घाइते भएका छन् ।