सामाजिक सुरक्षा भत्ता ‘जिउने आधार’

बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले आठ वटै वडामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्नुका साथै निःशुल्क नागरिक स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य परीक्षण गर्दै आइरहेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्रसँगै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको अध्यक्ष कक्षपतिको भनाइ छ ।
गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गतामैत्री भौतिक पूर्वाधारहरु पनि निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाले सबै वडा कार्यालयबाट घुम्ती सेवा सञ्चालन गरी अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक महिनाको ५ गते अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण गर्दैै आइरहेको जनाएको छ ।
अपाङ्गता भएका नागरिकलाई प्रमाणपत्रबाट लिनबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले घरदैलोमै पुगेर परिचयपत्र वितरण गरिरहेको उपाध्यक्ष विकले बताए।
त्यसो त गाउँपालिकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । खजुरा गाउँपालिका–१ वीरपुरका ७९ वर्षीय दयाराम थापा क्षेत्रीले हिँड्डुल गर्न गाह्रो भइरहेका बेला घरमै भत्ता बुझ्न पाएकामा खुशी व्यक्त गरे।
उनले भने, “दम बढ्ने, हिँड्डुल गर्न नसक्ने, अरूको सहारा चाहिने अवस्था भइसक्यो, यस्तो बेला घरमै आएर भत्ता बुझाइएको छ । म यो सरकाराई धन्यवाद दिन्छु”, थापाजस्तै गाउँपालिका–१ कै ८६ वर्षीय प्रेमबहादुर गुरुङले घरमै भत्ता ल्याइदिएकामा खुशी व्यक्त गर्दै भने, “साँच्चिकै सरकार घरमै आएको रहेछ । सरकारले हामीजस्ता बूढाबूढीलाई भत्ता दिएर बाँच्ने आधार बनाइदिएको छ ।”

खजुरा गाउँपालिकाले आव २०७५÷७६ मा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिलगायत गरी ६ हजार ६० जनालाई रु ९५ करोड ६९ लाख पाँच हजार ४०० सामजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।