अभिभावकीय भूमिका निर्वाह गर्छु : श्रीमाया थकाली

नेकपा मुस्ताङको पहिलो राजनीतिक शक्ति हो । आइतबारको नेकपा सचिवालय बैठकले श्रीमाया थकालीलाई मुस्ताङ इन्चार्जको जिम्मेवारी दियो । यहाँ सहइन्चार्ज छानिएको छैन ।

साबिक एमालेबाट इन्चार्ज थकाली बनेकी हुन् । कुनै जिल्लामा १० जनासम्म सहइन्चार्ज छन् तर यहाँ सहइन्चार्जको जिम्मेवारी कसैलाई दिइएको छैन ।

इन्चार्ज थकाली आफूले भावनात्मक एकता कायम गर्ने गरी काम गर्ने बताउँछिन् । उनले भनिन्, ‘सबैलाई समेटेर अभिभावकीय भूमिका निर्वाह गर्छु । मुस्ताङको विकास र समृद्धिका लागि मिलेर पहल गर्छाैं ।’

विभिन्न कालखण्डमा पार्टीमा भूमिका निर्वाह गरेकाले आफ्नो नेतृत्व जायज भएको उनको तर्क छ । थकालीले थपिन्, ‘पार्टीले मलाई इन्चार्ज बनायो । यो न्यायोचित, सान्दिर्भक र आवश्यक पनि थियो ।’ मुस्ताङको फरक भूगोल र मौसमका कारण यहाँको विकास र समृद्धिका लागि फरक खालको योजना र दृष्टिकोण आवश्यक पर्ने उनको ठम्याइ छ ।

अन्तरिम व्यवस्थापिका, त्यसअघि संसद र विभिन्न फोरमबाट कोराला नाका खोल्न पहल गरेको उनले सुनाइन् । उनले भनिन्, ‘यहाँको विकास लागि मोटरबाटो अत्यावश्यक छ भनेर माग गरियो । कोराला नाका खोल्नुपर्छ भनेर माग गरियो ।’ संघीय र प्रदेश सरकारले बजेट छुट्याएर सडक र नाका खोल्ने पहल गरे पनि त्यो निकै सुस्त रहेको उनको भनाइ छ । विकट भूगोल, विषम प्रकारको हावापानीका कारण बेनी जोमसोम कोरला सडकको स्तरोन्नति सुस्त छ । थकालीले थपिन्, ‘केन्द्रले अहिले मुस्ताङ र कोराला नाकाको महत्व बुझेको छ तर यतिमात्र पर्याप्त छैन ।’

यस क्षेत्रका जनप्रतिनिधि, नेतृत्वले कोराला खोल्न माग गरे पनि केन्द्रले नाकाबन्दीपछि मात्र कोराला नाकाको महत्व महासुस गरेको उनको भनाइ छ । संसारकै मान्छे आउने घुम्ने, हेर्ने अनुपम मुस्ताङलाई पर्यटकको हब बनाउन पार्टीको तर्फबाट आवश्यक पहल गर्ने उनको प्रतिवद्धता छ ।

थकाली कम्युनिस्ट पार्टी मुस्ताङकी सांस्थापक सदस्य हुन् । उनी २०४४ सालतिर क्रान्तिकारी बुद्धिजीवी समितिमार्फत उनी पार्टीमा आवद्ध भएकी थिइन् । पछि उनी जिल्ला कमिटी सदस्य, उपसचिव, सचिव हुँदै धौलागिरी अञ्चल इन्चार्जसम्म भइन् । आफू देशभरिमै महिलाबाट पहिलो जिल्ला सचिव बनेको उनको भनाइ छ ।

२०५८ मा राष्टिय सभा सदस्य बनेकी उनी आठौं महधिवेशनबाट नेकपा एमालेको केन्द्रीय सदस्य र वैकल्पिक पोलिटब्युरो सदस्य बनिन् । नवौं महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित उनी साबिक एमाले र माओवादी एकतापछि पार्टीको केन्द्रीय सदस्य छिन् ।