पोखरामा बुधबार अधिकृत तथा होलसेल व्यवसायीका एउटा पनि गाडी गुडेनन् । यी व्यवसायीले अधिकृत विक्रेता संघ पोखराको आह्वानमा साउन १ गतेदेखि बजारमा दिइँदै आएको डोर टू डोर सेवा बन्द गरेका हुन् ।
यो बन्द अनिश्चितकालका लागि हो । यो आन्दोलन देशभर भइरहेको बताइन्छ । व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्श, नेपाल वितरक महासंघ, नेपाल मदिरा व्यवसायी महासंघ, ट्रक तथा ट्यांकर व्यवसायी लगायतका संघसंस्थाको ऐक्यवद्धता छ ।
सरकारले साउन १ गतेदेखि एक स्थानबाट अर्को स्थानसम्म मालसमान ओसार पसार गर्दा वेभमा आधारित अनलाईन ढुवानी साधन अनुगमन प्रणाली (भिसिसिएस) लागू गरे पनि व्यवसायी आन्दोलित भएका हुन् ।
सरकारको भिसिसिएस निर्णयसंगै भर्खरै बामे सर्दै गरेका व्यवसायी निकै चिन्तित भएका छन् । सरकारले आफ्नो निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने अधिकृत विक्रेता सघ पोखरा (ड्याप) को निर्णय छ ।
सरकारले हचुवाको भरमा ल्याएको नियम मान्न बाध्य नहुने नेपाल वितरक महासंघका महासचिव हरिराज पन्तले बताए । उनले सरकारको निर्णय फिर्ता नभएसम्म काम सुचारु नगर्ने स्पष्ट पारे ।
‘बरु व्यवसाय बन्द गछौं तर सरकारको यो नियम तत्कालका लागि कार्यान्वयन गर्न सक्दैनौं । यो नियम व्यवहारिक ढंगले आएको होइन’, उनले भने । उनले सरकारले विज्ञ र सरोकारवालासंग छलफलै नगरी नियम लागु गर्न खोजेको भन्दै आपत्ति प्रकट गरे ।
नेपाल मदिरा व्यवसायी महासंघका महासचिव तारानाथ ढुंगानाका अनुसार सरकारले ल्याएको भिसिटिएस मात्र होइन सबै कर्मचारीले अनिवार्य पान लिनुपर्ने, सबैको तलव बैंकमार्फत दिनुपर्ने लगायतका नियमले पनि समस्या पारिरहेको छ ।
महासचिव ढुंगानाले भिसिटिएस इन्टरनेट सेवा पुगेका र सुगम क्षेत्रमा मात्र लागु गर्न सकिए पनि यो व्यवहारिक नभएको भन्दै आपत्ति प्रकट गरे ।
‘महानगरका सबै क्षेत्रमा इन्टरनेटको सुविधा छैन भने ग्रामिण क्षेत्रमा कसरी यो नियम लागु हुन सक्छ ?’, उनले प्रश्न गरे । यो विषयमा सरकार अवश्य पछि हट्ने, नमाने आन्दोलन गरेरै भए पनि हटाउने उनले चेतावनी दिए ।
यसैबीच सरकारले साउन १ गतेदेखि लागू गरेको एक स्थानबाट अर्को स्थानसम्म मालसमान ओसार पसार गर्दा वेभमा आधारित अनलाईन ढुवानी साधन अनुगमन प्रणाली (भिसिसिएस) प्रति अधिकृत विक्रेता संघ पोखराले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव मनोजकुमार श्रेष्ठले बुधबार १ प्रेस विज्ञप्ति जारी गर्दै भिसिटिएस प्रणालीका कारण व्यवसायीलाई व्यवसाय गर्न निकै कठिनाई हुने भन्दै उत्तः प्रणालीप्रति आपत्ति प्रकट गरे ।

‘भिसिटिएस प्रणालीका कारण व्यवसायीहरूलाई व्यवसाय गर्न निकै कठिनाई भएकाले तत्काm उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने जानकारी गराउँदै आइरहेका छौं ।
तसर्थ अधिकृत विक्रेताले सेवामूलक रुपमा दिंदै आएको डोर टू डोर सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराउँदै पोखरास्थित विभिन्न पेशगत व्यवसायीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।
साथै संघले भिसिटिएस निर्णय तत्काल स्थगित गरी व्यवसाय पुनः सुचारु गर्ने वातावरण सृजना माग गरेको छ भने संघको माग वेवास्ता गरिए कडा संघर्षको कार्यक्रम घोषणा गर्ने महासचिव श्रेष्ठले बताए ।






