ताजा समाचार

जेठ १७ गते २०७६

धुम्रपानका कारण नेपालमा दैनिक ७४ जनाको मृत्यु

आज मे ३१ अर्थात् विश्व धुम्रपानरहित दिवस । ‘सुर्तिजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर धुम्रपानरहित दिवस मनाइँदै छ ।

नेपालमा झन्डै ९० लाख व्यक्तिले धुम्रपान र सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सूर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सूर्ती सेवनका कारणले हुने गरेको जनाएको छ । १० जनामध्ये एक जनाको चुरोट सेवनका कारण अकालमा मृत्यु हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २७ हजार १ सय ३७ जनाको सुर्तिजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्यांकका अनुसार सूर्तिजन्य पदार्थको सेवनबाट हुने रोगमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा देखा परेको छ ।

चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाको मृत्यु हुने गरेको बताएका छन् । धुम्रपानका कारण मानिसमा फोक्सोका क्यान्सर मात्र नभएर मुटुरोग, मधुमेह, श्वासप्रश्वास, उच्चरक्त चाप जस्ता विभिन्न दीर्घ रोगले भयावह रुप लिँदै गइरहेका छन् ।