ताजा समाचार

जेठ १४ गते २०७६

तनहुँका २ सबइन्जिनियर विरुद्ध मुद्दा दायर

अख्तियारले तनहुँको कालिका शहीद शान्ति पार्क निर्माणका लागि आएको रकम हिनामिना भएकोमा २ सब इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ ।

समितिले हालसम्म आन्तरिक लेखापरीक्षण नगरेको र आयव्यय विवरण स्पष्ट सार्वजनिक नगरेको भन्ने ब्यहोराको उजुरी परेपछि अख्यितारले छानबिनपछि मंगलबार आरोपपत्र दायर गरेको हो । साविक जिल्ला विकास समितिको कार्यालय तथा हालको जिल्ला समन्वय समितिको कार्यालय तनहुँका प्राविधिक सबइन्जिनियर खगेन्द्र खवास र व्यास नगरपालिकाका प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेलाई कालिका मन्दिर निर्माण कार्यको सिलसिलामा लागत अनुमान बमोजिमको काम भए नभएको जाँचबुझ गरी नापजाँच गरी कार्य सम्पम्न प्रतिवेदन दिनुपर्ने कर्तब्य हुँदाहुँदै निर्माण कार्यको जाँचबुझ र नापजाँच फिल्डमा भएअनुसारको कार्य नगरी बदनियतपूर्वक नभए, नगरेका काम देखाई कार्य सम्पन्न प्रतिबेदन दिएको अख्तियारले जनाएको छ ।

उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिम सजाय हुन मागदाबी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तिायार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।