ताजा समाचार

जेठ ८ गते २०७६

जसले बसाल्यो नेपालमा आधुनिक आर्चरीको जग

जवानीमा धेरै खेलकुद खेलियो । सुटिङ छोडेर आर्चरीमा पाईला लम्कियो । रिटायर्ड पछि पहिचान बनाउने खेल आर्चरी बन्यो । त्यसभन्दा अघि सुटिङ नै थियो । सुटिङ र स्वीमिङ दुवैमा अब्बल । जीवनको रसरंग भने आर्चरीमै बस्यो । किन ! पल्टने लाईफ सकियो, रिटायर्ड लाईफमा आर्चरीसँगै जोडियो अन्य खेल भने विदेशमै छोडियो ।

उमेरले आराम खोज्ने बेला हो । तर मनले मान्दैन् । त्यसैले त छ दशक उमेरमा पनि उस्तै युवा जोश छ । त्यो जोश अब युवापुस्तामा हस्तान्तरण गर्दै छन् । एकल प्रयासमै आर्चरी खेलमा कायापलट गर्ने महत्वाकांक्षा उनीभित्र छ । त्यसैले त आफ्नै लगानीमा प्रशिक्षण गराउँदै आर्चरीमा अन्तराष्ट्रिय पदक नेपालले भित्रयाईसकेको छ ।

हो उनै स्वयं सेवक प्रशिक्षक हुन किशोरकुमार गुरुङ । जन्म र कर्मले उनी सिंगापुर हुन् । तर चार कक्षासम्म मात्रै उनले पढने मेसो सिंगापुरमा पाए । बुवाको रिटायर्ड पछि आफनो प्राचीन थलो स्याङजको पन्चमुल सिरुबारी परिवारै फर्कियो । फर्किएपछि उनको दैनिक उकाली ओरालीमा अघि बढ्यो ।
………………..
परिवारको पृष्ठभूमी लाहुरे । त्यसैले उनको मनमा पनि लाहुरे बन्ने हुटहुटी भने ताजै थियो । त्यो हुटहुटीलाई उनले एसएलसी दिएपछि पुरा गरे । गाँउकै त्रिशहीद माविमा स्कुले जीवन विताए । उत्तीर्ण भए अनि लागे भर्तीको दुनियाँमा । १८ वर्षे लक्का जवान ठिटो । ‘भर्ती भएपछि ३÷४ वर्षमा छुट्टी आउँथे ।’ उनले आफनो बास्तविकता सुनाउन थाले–‘छुट्टीमा आउँदा भलिबल खेलिन्थ्यो । गाँउ घरमा खेलकुदका सामान भलिबल, फुटबल ल्याउँथ्यौं । त्यो बाँडेर फर्किन्थ्यौं ।’

विदेशमा स्पोर्टस बढी छ । त्यसैले होला उनको पनि स्पोर्टसप्रति झुकाव सधैं रहिरह्यो । स्पोर्टसम्यासिपकै कारण उनी हरेक खेल छिटो टिप्थे । ‘सेक्सन, ब्लाटुन हुदैं युनिट हुदैं छानिएर सहभागि हुन्थ्यौं ।’ युनिटबाट लामै समय भलिबलमा वित्यो । फुटबल त केवल पार्ट टाईम मात्रै खेलिन्थ्यो । अझ बढी रुचीकर स्पोर्टस त स्वीमिङ र सुटिङ थियो । ‘स्वीमिङमा पल्टन भित्रै प्रशिक्षण समेत दिन्थे ।’ विगत सम्झन्छन्–‘ब्रेष्ट स्ट्रोक मेरो फेभरेट इभेण्ट थियो ।’ स्वीमिङ मात्रै होईन सिंगापुरमै रहदाँ उनले डुबेकाहरुलाई तानेर उद्धार गरिने प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गर्दै आफनो परिचय दिएका थिए । ‘लाईफ सेभिङ’ भन्ने हुन्थ्यो ।

k k gurung train garaudai

समय त्यति अनुकुल थिएन् । माओवादीको द्वन्द्व चरम अवस्थामा थियो । सुटिङ प्रतिको लगावलाई उनले रिटायर्ड हुदाँ प्रशिक्षणको योजना बनाईरहेका थिए । तर उनले भने जस्तो र चाहे जस्तो हुन सकेन् । सुटिङलाई उनले सिंगापुरमै थाँती राखे । पल्टन भित्रको प्रतिस्पर्धामा अब्बल थिए । सुटिङप्रतिको मोहलाई च्याट्टै छाडेर आर्चरी तर्फ मन डोर्याए । पेन्सन आउने बेलामा सिकेको आर्चरीले उनलाई नयाँ पहिचान बनाईदिएको छ । ‘सुटिङ मेरो लागि स्वीटेबल गेम भएपनि रिटायर्ड पनि के खेल्ने भन्ने मनमा हुदाँ आर्चरी देखेपछि त्यतातिर मोडिए ।’ उनी सम्झन्छन् ।
…………………….
सन २००३ मा पल्टनबाट स्वदेश फर्किए । पल्टने सेवामा लागि नफर्किने गरी । स्वदेश फर्किनु अघि उनले दुई वर्ष आर्चरी प्रशिक्षण गर्नमै विताए । त्यसपछि हरेक विधि, नियम तथा उपकरण बारे पूर्ण जानकारी लिएपछि फर्किए । उनीसँगै सिंगापुरमै रहँदा दिपकराज गुरुङ(हाल नेपाल र्आचरी संघका केन्द्रीय अध्यक्ष)सँग भेटघाट हुदैं आर्चरीमा होमिए । दिपकराज भने २००४ मा रिटार्यड हुदैं नेपाल फर्किएका हुन् ।

एक वर्ष अघि फर्किएका उनीमाझ नेपालमा आधुनिक आर्चरीलाई कसरी फैलाउने भन्ने चिन्ता र पीरलो थपियो । काठमाडौंमै बस्ने योजना थियो । तर पोखरालाई उनले रोजे । केन्द्रीय अध्यक्ष रहेका दिपकराज भने काठमाडौंलाई आफनो आर्चरीका कर्मथलो बनाए । ‘आर्चरीको बारेमा अनुसन्धान गर्दै थिए । दिपकराजसँग भेट भयो । अनि दुवैले टे«निङ गर्न शुरुवात गर्यौं ।’ किशोरकुमार गुरुङ इतिहास पल्टाउँछन्–‘हामीले सिक्दै गएपछि हरेक प्रतियोगितामा सहभागि हुदैं जित्न थाल्यौं । सिनियरमा भने हामीलाई सिंगापुरमा खेल्नै दिएनन् ।’

सिंगापुरबाट रिटायर्ड हुन केही महिना बाँकी रहदाँ आर्चरीप्रतिको अभिरुची बढ्दै गयो । आर्चरी बारे अध्ययन र अनुसन्धान गर्न थाल्यौं । खेल्ने मात्रै नभई आवश्यक सामान जोड्न पनि थाल्यौं । सामान जोडेपछि रिटायर्ड हुदाँ सबै सामान नेपाल ल्यायौं । अहिले पनि सामान सिंगापुरबाट आवश्यकता अनुसार मगाउने गरिएको छ । ‘आर्चरीको बेसिक कोर्ष(आधारभूत तालिम)लियौं । १÷२ दिनको मात्रै हुन्थ्यो । टेक्निक मात्रै सिकाउँथे । अरु आफैंले अनुसन्धान गर्नुपथ्र्यो ।’ उनी भन्छन् –‘त्यसरी तालिम लिएपछि आर्चरीको बारेमा अझ रुची जाग्दै गयो ।’
यसरी बस्यो आर्चरीका जग
ज्ञान सीप र आवश्यक उपकरणसहित स्वदेश फर्किएपछि गुरुङले आधुनिक आर्चरी सिकाउने मेसो शुरु गरे । पुरानै धनुषवाण खेल्ने परम्परा थियो । त्यसलाई आधुनिक धनुष(बो)मा ढाल्नुपर्ने आवश्यकता थियो । परम्परागत धनुषवाणलाई संरक्षण गर्दै आधुनिक आर्चरीमा लैजानुपर्ने चुनौति उत्तिकै थियो । ‘शून्यबाटै शुरु गरे सिकाउँन ।’ उनी भन्छन्–‘सवैभन्दा पहिला आधुनिक आर्चरीका उपकरण(इकुपमेन्ट)बारेमा जानकारी दिन थाले ।’

आफु भन्दा पाका उमेरका आर्चरी खेलाडी(परम्परागत शैलीमा आर्चरी खेल्दै आएका) रामकाजी बान्तवा, हरिध्वज तुलाचन, मेजर ईश्वरी, मीनबहादुर शेरचन, अजित दाइ लगायतलाई आर्चरीको बारेमा प्रशिक्षण दिन थाले । नयाँ शैली, नयाँ नियम र स्कोरिङ तरिकाको बारेमा सिकाउने काम भयो । ६÷७ वटा आर्चरी(धनु) ल्याएको थिए । दिपकराज फर्किदाँ ५ वटा ल्याईदिएका थिए ।

खेलबारे प्रशिक्षण दिने क्रममा किशोर गुरु

आर्चरीका अगुवाहरुले आधुनिक शैलीको आर्चरी खेल्ने विधिबारे जानकारी लिएपछि नेपालमै पहिलो पटक अन्नपूर्ण आर्चरी क्लब २०६१ सालमा गठन भएको थियो । हरिध्वज तुलाचनको अध्यक्षतामा क्लब स्थापना गरिएको थियो । ‘अग्रजहरुलाई दैनिक २ घण्टा बो समात्ने, एरो राख्ने, तान्ने र हान्ने, स्कोरिङको विधि र नियमबारे एक हप्ता प्रशिक्षण गराएँ ।’ उनी भन्छन्–‘प्राक्टिस गराउँदै प्रतियोगिता खेलाउने गर्थे ।’ ट्रेनिङ पोखरा रंगशालामै हुन्थ्यो । आर्चरी विशेष गरी मगर, छन्त्याल, थकाली समुदायले बढी खेल्ने गर्छन् ।

अग्रजले प्रशिक्षण लिएपछि अनुजहरुको पालो आयो । उमेरले अग्रजभन्दा केही कम मात्रैका थिए । भन्नुपर्दा अर्धवैंशे युवाहरु भेला भए । उनीहरुलाई प्रशिक्षण दिएँ । समीर शेरचन, बुद्धि हिराचन, योगेन्द्र शेरचन (हाल कास्की जिल्ला आर्चरी संघका अध्यक्ष समेत हुन् ।) लगायतले उनै गुरु(किशोरकुमार)बाट प्रशिक्षण लिए । आर्थिक रुपमा सम्पन्न व्यक्तिले मात्रै आधुनिक बो खरीद गर्थे ।

आफनै लगानीमा गुरुङले पुर्वमा प्रशिक्षण गराएका छन् । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएपछि आर्चरीलाई निरन्तर समावेश गरिदैंआएको छ । सातौं र आठौं राष्ट्रिय प्रतियोगितामा पुर्वबाट सहभागि खेलाडीहरु उनै प्रशिक्षक(किशोरकुमार गुरुङ)ले प्रशिक्षण गराएका खेलाडी थिए । धरान, खोटाङ, इटहरी, सोलुखुम्बु, मुस्ताङ लगायतका जिल्लाहरुमा व्यक्तिगत खर्च गरेर आर्चरीको एक हप्ते आधारभूत तालिम दिईसकेका छन् ।
…………………….
पहिलो पदक
स्वदेश फर्किएको तीन वर्षपछि आर्चरीमा नेपालले फड्को मार्यो । पोखरामा किशोर र काठमाडौंमा दिपकराजले आर्चरीको प्रशिक्षण गराएपछि माहौल जम्दै गएको थियो । खेलाडीको आकर्षण उस्तै थियो । कपितय अवस्थामा आफैं प्रशिक्षक, रेफ्री, आयोजक अनि खेलाडी पनि बन्नुपर्ने अवस्था थियो । घरेलु प्रतिस्पर्धामा त्यस्तो अवस्थाबाट समेत गुज्रिनुपरेको यथार्थ उनीसँग छ । उनीसँगै आयोजक रेफ्री र खेलाडी आफैं बन्नुपरेको किस्सा पनि उस्तै छ । २०६२ सालमा काठमाडौंमा आयोजित राष्ट्रिय आर्चरी प्रतियोगितामा आयोजक, रेफ्री र खेलाडी गरी १४ जना सहभागि थिए । जसमा सबै भूमिका खेल्नुपरेको किस्सा सुनाउन उनी भुल्दैनन् ।

२००४ मा आर्चरीको खेललाई फैलाईएको थियो । पोखरामा २००३ देखि नै शुरु भईसकेको थियो । २००४ मा दिपकराज गुरुङको स्वदेश फिर्तापछि आर्चरीले अझ व्यापकता पायो । सन २००५ मा नेपालले आर्चरी प्रतियोगितामा पहिलो अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्रियो । भारतको दिल्लीमा आयोजित १५ औं एशियन आर्चरी च्याम्पियनसिपमा पहिलो सहभागिता अनुभव मात्रै बटुल्ने अवसरको रुपमा लिइएको थियो । सन २००६ मा सहभागि बनेको नेपाली टोलील टिम इभेण्टमा कास्य पदक जित्दै आर्चरीकै इतिहासमा पहिलो पदक भित्रिएको थियो । पदक जित्दा उनी प्रशिक्षकको रुपमा थिए । आधुनिक आर्चरीको विकास र विस्तारको श्रेय उनै गुरुङलाई जान्छ ।
………………………
दुई वर्षे प्रशिक्षक सेवा, तलब भत्ता खेल सामाग्रीमै खर्च
पोखरामा आर्चरीको प्रशिक्षक त्यतिबेला थिएन् । जतिबेला राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी समावेश भएकै थिएन् । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट मात्रै आर्चरीलाई समावेश गरियो । तर उनी छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषदबाट करारमा प्रशिक्षक नियुक्त भए । करारमा नियुक्त भएपछि उनको ध्यान आर्चरीमा पोखरालाई अधिक पदक दिलाउने ध्याउन्नमा थिए । छैटौंमा पदक पनि लक्ष्य गरे अनुसार नै प्राप्त भयो ।
प्रशिक्षकको रुपमा उनले दुई वर्ष विताए । दुई वर्षको अवधिमा उनले प्रशिक्षक वापत पाएको तलब भत्ताको सुविधा भने खेलाडीलाई नै खर्चिए । उपकरण अभावमा खेलिरहेको खेलाडीलाई उपकरण खरीद गरेर दिनेदेखि डाईट खाने व्यवस्था समेत उनले आफनै तलबबाट गरिदिएका थिए । उनको प्रशिक्षकत्वमा पोखराको आर्चरी खेल सुवर्णकाल नै थियो भन्दा अन्यथा नहोला ।
……………………….

आर्चरीमा तार्गेट हान्न सिकाउँदै किशोर गुरु

नियम, उपकरण र खर्च
आर्चरी ओलम्पिकमा समावेश खेल हो । एक जना बैकिल्पक चार जना खेलाडी हुन्छन् । ओलम्पिकमा फूल फिटा ३०, ५०, ७० र ९० मिटरमा प्रतिस्पर्धा हुन्छ । ९० मिटरमा विशेष गरी विश्व बरियताको लागि र हाई स्कोरको लागि प्रतिस्पर्धा हुन्छ । ७० मिटरमा प्रतिस्पर्धा हुने गर्छ । व्यक्तिगत महिला तथा पुरुष विधा, टिम विधा र मिक्स्ड विधामा प्रतिस्पर्धा हुदैं आएको छ ।
अर्को कम्पाउण्ड बो हुन्छ । त्यसमा पनि व्यक्तिगत महिला तथा पुरुष विधा, टिम विधा र मिक्स्ड विधामा प्रतिस्पर्धा हुदैं आएको छ । यो ५० मिटरमा प्रतिस्पर्धा गराईन्छ । हाम्रोमा १८ मिटरको आउटडोर र इण्डोर प्रतिस्पर्धा हुन्छ । नयाँ खेलाडीलाई प्रर्वद्धन गर्न भने स्टार्डण्र्डमा प्रतिस्पर्धा गराईने गरिएको छ । ३० र ५० मिटरमा प्रतिस्पर्धा हुन्छ ।

आर्चरी आफैमा महंगो खेल भने होईन् । तर आधुनिक उपकरणले निकै महंगो बनाईदिएको छ । खेलप्रति अभिरुची राख्ने खेलाडीलाई प्रशिक्षक गुरुङले आफैंले उपकरणसँगै आवश्यक सबै सामान निशुल्क उपलब्ध गराउँदै आएका छन् । सामान्य त एउटा बो(धनुष)को मूल्य डेढलाख रुपैयामा कम्प्लिट सेट आउँछ । सामान्य बोलाई पनि ५० हजार रुपैयाँ पर्छ । ५ केजी तौलसम्मको हुन्छ । एउटा एरो(तीर)को मूल्य ८ सय ५० रुपैयाँदेखि ४५ सयसम्म पर्छ । खास गरी बोसँगै चेष्ट गार्ड, एरो, तीर लगायतका सामान चाहिन्छ । प्रतिस्पर्धाको लागि १२ एरो राख्नुपर्छ । ६ एरो हानिन्छ । नकाउटमा ३ एरो प्रहार गर्न पाईन्छ ।

उनले खेलाडीलाई हेलत्वको भावनाले खेल्न नहुने जिकिर गर्छन् । ‘खेलाडीले अपिल गर्न पाउनुपर्छ । अपिल नगर्ने परिपाटीले विदेशमा पनि खुम्चिएर बस्नुपर्ने पीडा छ । त्यसैले खेलाडीले अपिल गरेको अवस्थामा मात्रै थप जानकारी पाउँन सक्छन् ।’ उनको बुझाई छ–‘हामीले आधारभूत प्रशिक्षणमै यो कुरालाई पनि सिकाउन जरुरी छ ।’ उनलाई तार्गेट नहुदाँको समस्या सधै खडकिरहन्छ । ‘तार्गेट आफैंले बनाएर खेलाउनुपर्ने बाध्यता छ ।’ उनी भन्छन्–‘बनाउने मान्छे नै छैनन् । त्यो पनि बनाउन सिकाउन जरुरी छ ।’ ४ फिट लम्बाई र ४ फिट चौडाईको तार्गेट बोर्ड परालबाट बनाउने गरिएको छ ।
……………………..
लक्ष्य
कहिलेकाही दिक्क लाग्छ । तर प्यासन हो । त्यही प्यासनले मलाई आर्चरी सिकाउने जाँगर चलिरहन्छ । सिकारुलाई प्रशिक्षक गुरुङले आफैं घरमा प्रशिक्षण दिन्छन् । आफनै घरमा तार्गेट बनाएर १० मिटरमा प्रशिक्षण गराउँदैआएका छन् । रंगशाला पुग्न समय नहुने भर्खरैका सिकारु खेलाडीलाई आफ्नै सामान दिएर प्रशिक्षण दिने गरेका छन् । ‘आर्चरी मेरो शौख हो । तलब भत्ता र सरकारी सुविधाको आश छैन् । पाएको सबै खेलाडीको लागि खर्चिन्छु ।’ उनी भन्छन्–‘मेरो एउटै उद्देश्य र लक्ष्य भनेको आर्चरीका खेलाडी उत्पादन गर्नु हो ।’

स्कुल स्कुलमा आर्चरी खेलको पहुँच पुर्याउनु जरुरी उनी देख्छन् । दक्षिण एशियामा आर्चरीमा पदकको दावेदारी रहेपनि आर्चरीको विकास र विस्तार अझै हुन नसकेको उनको ठम्याई छ । १२ र १६ वर्ष मुनिका स्कुले विद्यार्थीलाई सिकाउन जरुरी रहेको छ । अबको लक्ष्य साग हो । सागमा पदक जित्न अहिले देखि नै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नुपर्ने उनको जोड छ । ‘दुई वर्ष जागिर खादाँ तलबको सुको पनि मैले मेरो लागि खर्चिन् । सबै सामान जोड्ने र खेलाडीलाई दिने गरें ।’ आफु प्रशिक्षक रहदा पोखरामा आर्चरी सम्बन्धी सोलिडारिटी कोर्ष गराउने पाइएकोमा सबैभन्दा भन्दा गर्विलो क्षणको अनुभूति प्रशिक्षक गुरुङले गरेका छन् ।

kheladinews.com