ताजा समाचार

जेठ ६ गते २०७६

गण्डक काव्यधारामा स्रस्टा सम्मान तथा रचना वाचन

कावासोतीमा गण्डकी प्रदेश स्तरीय साहित्य सम्मेलन आयोजना गरिएको छ । कार्यक्रम नवलपुरको सदरमुकाम कावसोतीमा भएको हो ।

गण्डक काव्यधारा नाम दिइएको कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत १० वटा जिल्लाका स्रस्टाहरुको सहभागिता थियो । छिमेकी जिल्ला नवलपरासी, रुपन्देही, चितवन, कपिलवस्तुबाट पनि स्रस्टाहरु कावासोती लगाएतको पनि उपस्थिती रहेको थियो ।

मध्यविन्दु प्रज्ञा प्रतिष्ठान नेपाल, लुम्बिनी वाङमय प्रतिष्ठान नवलपरासी शाखा र साधना संगम नवलपुरले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा कावासोती नगरपालिकाले समन्वयकारी भूमिका खेलेको थियो । दुई चरणमा गरिएको कार्यक्रममा पहिलो सत्रमा स्रस्टाहरुले रचना वाचन गरे ।

दोस्रो सत्रमा बिशिस्ट स्रस्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्रस्टाहरु गोविन्दराज बिनोदी, नवराज लम्साल र दिपक सोतीलाई सम्मान गरियो । काव्यधारा सम्मान तथा मध्यविन्दु स्वर्ण पदकबाट कवि बिनोदी र लम्साललाई सम्मान गरिएको हो । बिनोदीको महाकाव्य कैकेयी र लम्सालको महाकाव्य धरालाई यी सम्मान दिइएको मध्यविन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष जीवन युगिनले नेपालदूतलाई बताए ।

बिनोदी र लम्साललाई प्रमुख अतिथी सरुभक्त र सभापति डा। धनपति कोइरालाले नगद र सम्मानपत्र दिएर सम्मान गरे । त्यसैगरी काव्यधारा समालोचक पुरस्कार स्रस्टा दिपक सोतीलाई दिइएको छ । नगद २० हजार र सम्मानपत्रबाट उनलाई सम्मान गरिएको हो । कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुन मगर र जीवन युगिनले उनलाई सम्मान गरे । सम्मान सँगसँगै दोस्रो सत्रको कार्यक्रममा पनि स्रस्टाले रचना वाचन गरे ।

ठुलो संख्यामा उपस्थित माहोल बिभिन्न जिल्लाका स्रस्टाहरुका रचना सुनेर मोहित थियो । कार्यक्रममा श्यामप्रसाद न्यौपाने, तिलक भट्टराई अन्जान नवलपरासी, सुरेन्द्र देवकोटा, प्रदिप रोदन गोर्खा, मातृका खनाल लमजुङ, गणेश श्रमण, सुरेन्द्र अस्तफल, सरिता तिवारी, भूपिन, कृष्ण विश्वकर्मा, गायत्री अधिकारी चितवन, सुशील थकाली मुस्ताङ, ओजस्वी आचार्य पर्वत, घायल श्री म्यादी, सुदेश सत्याल, अनिल श्रेष्ठ तनहुँ, सरस्वती तिमिल्सिना, सरोज उजाड, सन्जय भट्टराई नवलपुर, झरना कुँवर बाग्लुङ, आकाश अधिकारी, राजन पाण्डे, लोकनाथ पुडासैनी कास्की, परशुराम कोइराला, होमकान्त पाण्डे स्याङ्जा, रघुनाथ घिमिरे लमजुङ लगायतका स्रस्टाले रचना वाचन गरेका थिए ।

साहित्य सिर्जना गर्ने स्रस्टाहरुबिच आपसी सद्भाव कायम राखी प्रदेशगत रूपमा साहित्यको संरक्षण र संवर्द्दन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक जीवन युगिनले बताए ।