ताजा समाचार

जेठ ५ गते २०७६

कास्की कांग्रेसको जागरण अभियान दोस्रो चरणमा

नेपाली कांग्रेस कास्कीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानका कार्यक्रम थप गरेको छ । नेपाली कांग्रेस कास्कीका सभपाति कृष्ण केसीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको उपस्थितिमा बसेको बैठकले जागरण अभियानका कार्यक्रम थप गरेको हो ।

हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको अभियान जेठ ५ गतेबाट शुरु भएको छ । यो अभियान यही जेठ २५ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

जेठ ५ गते वडा नं. ३१ को आयोजनामा वडास्तरीय कार्यक्रम भएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विशेष कार्यक्रम, जेठ १० गते नेपाल महिला संघ कास्कीको आयोजनामा जिल्लास्तरीय कार्यक्रम, जेठ ११ गते वडा नंं २७ को आयोजनामा वडास्तरीय कार्यक्रम, जेठ १४ गते नेपाल तरुण दल कास्कीको आयोजनमा तरुण जागरण अभियान र जेठ १५ गते रुपा गाउँपालिका वडा नं. ७ को आयोजनामा वडास्तरीय कार्यक्रम हुने सभापति केसीले जानकारी दिए ।

उनका अनुसार स्थानीय तह अन्तर्गत जेठ १२ गते अन्नपूर्ण गाउँपालिका, जेठ १३ गते माछापुच्छ्रे गाउँपालिका, जेठ १६ गते पोखरा महानगरपालिका, जेठ १७ गते मादी गाउँपालिका र जेठ १८ गते रुपा गाउँपालिका स्तरीय जागरण अभियान सञ्चालन गरिनेछ ।

यस्तै जेठ २५ गते पोखरा–१७ विरौटा राममन्दिर नजिकै राष्ट्रिय जागरण अभियान अन्तर्गत जिल्लास्तरीय आमसभा गरिने छ । यसअघि नेपाली कांग्रेसको केन्द्रीय नीति अनुरुप नै नेपाली काँग्रेस कास्कीले प्रथम चरणको जागरण अभियान अन्तर्गत कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

‘केन्द्रको परिपत्र र निर्देशन अनुरुप पहिलो चरणको जागरण अभियान अन्तर्गत कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम उत्साहका साथ समापन भएको छ’, सभापति केसीले भने, ‘पहिलो चरणको अभियान उत्साहजनक र पूर्ण सफल भएको छ । अबको कार्यक्रममा पनि यसैगरी सफल हुन्छ भन्ने विश्वास छ ।’

यसैगरी नेपाली कांग्रेस पोखरा–२२, पुम्दीभुम्दीमा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएएको कार्यक्रमा सहभागीले पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय तहबाटै एक भएर आउन सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता खेमराज पौडेलले पार्टीलाई मजवुद बनाउनका लागि तल्लो तहबाटै खटिनुपर्ने बताए । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुम्दीभुम्दीका प्रतिनिधि रामचन्द्र त्रिपाठीले अबको निर्वाचनमा पहिलो पार्टी बनाउन नेता कार्यकर्ता अहिलेबाटै जाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस पोखरा–२२ का सभापति देउकाजी गुरुङ, उपसभापति चेतभक्त बराल, सचिव उमनाथ बराल, प्रतिनिधि शुष्मा कार्कीलगायतले बोलेका थिए ।