ताजा समाचार

जेठ ५ गते २०७६

पहिलो पत्रकार नारदका दुःख

- खोज पत्रकारिता गर्दा भष्म भए, १२ वर्ष स्त्री बने

नारद मुनिको नाम सबैले सुनेकै हुनु पर्छ। बैदिककालका पत्रकारको भूमिका निर्वाह गर्ने नारद सबै भगवानका प्रिय पात्र थिए। हरेक वर्ष जेठ महिनाको कृष्‍ण पक्ष द्व‍ितीयाको दिन नारद जयन्ति मनाइन्छ। हिन्‍दू शास्‍त्रका अनुसार नारदलाई ब्रह्माको मानस पुत्रमध्येका एक मान्ने गरिन्छ। प्रत्येक पुराणहरुमा उनको कहानी पाउन सकिन्छ। संक्षिप्तमा तिनै नारदको शक्तिको राज र उनको कहानीको बारेमा बुँदागत रुपमा उल्लेख गरिएको छ। 

१. हिन्‍दू मान्‍यताका अनुसार नारद मुनिको जन्‍म सृष्टिका रचयिता ब्रह्माजीको आँचलबाट भएको थियो। ब्रह्मवैवर्तपुराणका अनुसार यो ब्रह्माको कण्ठबाट उत्पत्ति भएको हो। 

२. देवर्षि नारदलाई महर्षि व्यास, महर्षि वाल्मीकि र महाज्ञानी शुकदेवको गुरु पनि मान्ने गरिएको छ। यो पनि भन्ने गरिएको छ कि दक्ष प्रजापतिका १० हजार पुत्रलाई नारदले संसारबाट निवृत्तिको शिक्षा दिएका थिए। देवताहरुका ऋषि भएका कारणले पनि नारद मुनिलाई देवर्षि भनिएको हो। प्रसिद्ध मैत्रायणी संहितामा नारदलाई आचार्यको रुपमा मान्ने गरिन्छ। केही स्थानहरुमा नारदको वर्णन बृहस्पतिको शिष्यको रूपमा रहेको समेत पाईन्छ। अथर्ववेदमा समेत अनेक पटक नारद नामको ऋषिको उल्लेख छ। भगवान सत्यनारायणको कथामा समेत उनको उल्लेख छ। 

नारद मुनिले भृगु कन्या लक्ष्मीको विवाह विष्णुका साथ गराएका थिए। इन्द्रलाई सम्झाईबुझाई उर्वशीको पुरुरवाका साथ परिणय सूत्र समेत उनैले गराएका थिए। महादेवद्वारा जालन्धरको विनाश गराएका थिए। कंसलाई आकाशवाणीको अर्थ सम्झाएका थिए। वाल्मीकिलाई रामायणको रचना गर्नको लागि प्रेरणा दिएका थिए। व्यासजीले भागवतको रचना गरेका थिए। इन्द्र, चन्द्र, विष्णु, शंकर, युधिष्ठिर, राम, कृष्ण आदिलाई उपदेश दिएर कर्तव्याभिमुख समेत गरेका थिए। 

३. भनिन्छ कि ब्रह्माबाट नै यिनले संगीतको शिक्षा लिएका थिए। भगवान विष्णुले नारदलाई मायाको विविध रूप सम्झाएका थिए। नारद अनेक कलाहरु र विद्याहरुमा समेत निपु्र्ण थिए। कैयौं शास्त्रले त यिनलाई विष्णुको अवतार समेत मान्ने गरेका छन्। यस्तो हुनाले नारद मुनि त्रिकालदर्शी समेत रहेको बताइन्छ। यो वेदान्तप्रिय, योगनिष्ठ, संगीत शास्त्री, औषधि ज्ञाता, शास्त्रहरुको आचार्य र भक्ति रसका प्रमुख मानिन्छ। देवर्षि नारदलाई श्रुति-स्मृति, इतिहास, पुराण, व्याकरण, वेदाङ्ग, संगीत, खगोल-भूगोल, ज्योतिष र योग जैस्ता कैयौं शास्‍त्रहरुको प्रकाण्ड विद्वान समेत मान्ने गरिएको छ। 

४. नारद मुनि भागवत मार्ग प्रशस्त गराउनेवाला देवर्षि हुन्। ‘पाँचरात्र’ नारदद्वारा रचित प्रमुख ग्रन्थ हो। त्यस्तै २५ हजार श्लोकवाला प्रसिद्ध नारद पुराणसमेत यिनीद्वारा रचाइएको छ। यसका अलावा ‘नारद संहिता’ संगीतको एक उत्कृष्ट ग्रन्थ हो। ‘नारदको भक्ति सूत्र’मा उनी भगवत भक्तिको महिमाको वर्णन गरिएको छ। यसका अलावा बृहन्नारदीय उपपुराण-संहिता- (स्मृतिग्रन्थ), नारद-परिव्राज कोपनिषद र नारदीय-शिक्षाका साथ नै अनेक स्तोत्र समेत उपलब्ध हु्न्छ। 

५. नारद विष्णुका भक्त मानिन्छ र यिनलाई अमर हुने वरदान पनि प्राप्त भएको थियो। भगवान विष्णुको कृपाबाट सबै युगहरुको र तीनै लोकमा काहिँपनि प्रकट हुनसक्छ। यो पनि मनिएको छ कि लघिमा (योग शास्त्र अनुसार योगीबाट प्राप्त हुने अष्टसिद्धिमध्येको चौथो सिद्धि) शक्तिको बलमा उनी आकाशमा गमन गर्दथे। लघिमा अर्थात लघु र लघु अर्थात हल्का रुई जस्तो पदार्थको धारणाबाटआकाशमा गमन गर्दछ। एक सिद्धान्त समयतालिकाको पनि हो। प्राचीनकालमा सनतकुमार, नारद, अश्‍विन कुमार आदि कैयौं हिन्दू देवता समय यात्रा (यति वर्षपछिको अनुभव गर्छु भनेर त्यही समयको अनुभव गर्ने) गर्दथे। वेद र पुराणहरुमा यस्तो कैयौं घटनाहरुको दाबी गरिएको छ।

६. देवर्षि नारदलाई दुनियाँका प्रथम पत्रकार या पहिला संवाददाता हुनुको गौरव समेत मिलेको थियो। किनकी देवर्षि नारदले एक लोकबाट अर्को लोकमा परिक्रमा गर्दै संवादहरुलाई आदान-प्रदानद्वारा पत्रकारिताको प्रारम्भ गरेका थिए। यस प्रकार देवर्षि नारद पत्रकारिताका प्रथम पुरुष/पुरोधा पुरुष/पितृ पुरुष समेत हो। उनी यताबाट उता भ्रमण गरिरहन्थे। 

अन्य कथाका अनुसार दक्षपुत्रलाई योगको उपदेश दिएर संसारसँग विमुख गरिएको कुरा थाहा पाएर अन्यत्र त्यो कुरा लगाइदिँदा दक्ष क्रुद्ध भएका थिए। त्यहीकारण उनले नारदको विनाश गरेका थिए। यसलाई अहिलेको पत्रकारिताको भाषामा भन्दा उनले खोजी पत्रकारिता गरेका थिए र त्यही कारण नै उनको विनास पनि भएको थियो । 

फेरि ब्रह्माको आग्रहमा दक्षले भने कि म तपाईलाई एक कन्या दिँदैछु। ती कन्या उनको काश्यपसँग विवाह भएपछि नारद उनैको गर्भबाट पुनः जन्म लिनेछन्। पुराणहरुमा यो पनि भनिएको छ कि राजा प्रजापतिले दक्षले नारदलाई दुई पला भन्दा बढी एकैठाउँमा रोकिन नसक्ने श्राप दिएका थिए। त्यसैले उनी अक्सर यात्रामा नै निस्कने गरेका हुन्।

७. भनिन्छ कि भगवान विष्णुले नारदलाई मायाको विविध रूप सम्झाएका थिए। एक पटक यात्राको दौरान एक सरोवरमा स्नान गरेका कारण नारदलाई स्त्रीत्व प्राप्त भएको थियो। स्त्रीको रूपमा नारद १२ वर्षसम्म राजा तालजङ्घकी पत्नीको रूपमा रहेका थिए। फेरि विष्णु भगवानको कृपाले उनले पुनः सरोवरमा स्नानको मौका मिलेको थियो।

नारद सधैंभरी आफ्नो वीणाको मधुर तानबाट विष्‍णुको गुणगान गरिरहेका थिए। उनी आफ्नो मुखमा सधैंभरी नारायण-नारायणको जप गर्दै विचरण गर्दथे। नारद सधैंभरी आफ्नो आराध्‍य विष्‍णुको भक्‍तहरुको मद्दत समेत गर्दथे। मान्‍यता यो पनि छ कि नारदले भक्त प्रह्लाद, भक्त अम्बरीष र ध्रुव जस्ता भक्तहरुलाई उपदेश दिएर भक्तिमार्गमा प्रवृत्त गरेका थिए।

८. दक्ष प्रजापतिका १० हजार पुत्रलाई नारदले संसारबाट निवृत्तिको शिक्षा दिएका थिए। जबकि ब्रह्मा उनले सृष्टिमार्गमा आरूढ गर्न चाहन्थे। ब्रह्माले फेरि उनलाई श्राप दिएका थिए। यो श्रापबाट नारद गन्धमादन पर्वतमा गन्धर्व योनिमा उत्पन्न भए।

यस योनिमा नारदको नाम उपबर्हण थियो। यो पनि मान्यता छ कि पूर्वकल्पमा नारद उपबर्हण नामको गन्धर्व थिए। उनका ६० पत्निहरु थिए र रूपवान भएका कारण उनलाई सुन्दर स्त्रीहरुले घेरेर बस्दथे। त्यसैले ब्रह्माले यिनलाई शूद्र योनिमा पैदा हुनुपर्ने श्राप दिएका थिए।

यस श्रापका कारण नारदको जन्म शूद्र वर्गको एक दासीको योनिमा भएको थियो। जन्म लिए लगत्तै उनको पिताको देहान्त भएको थियो। एक दिन सर्पले टोकेका कारण उनको आमाको समेत ज्यान गयो। त्यसपछि उनी एक्लै भएका थिए। त्यो समय उनी ५ वर्षका थिए। एक दिन चतुर्मासको समय सन्तजन उनको गाउँमा बसेका थिए।

नारदले सन्तहरुको एकदमै सेवा गरे। सन्तहरुको कृपाबाट उनलाई ज्ञान प्राप्त भयो। समय आएपछि नारदको पाँचभौतिक शरीर छुटेको थियो र कल्पको अन्तमा ब्रह्माजीको मानस पुत्रको रूपमा अवतीर्ण भए।

९. पुराणहरुका अनुसार ब्रह्माजीले नारदसँग सृष्टिको काममा हिस्सा लिनको लागि र विवाह गर्नको लागि भनेका थिए। तर, उनले आफ्ना पिता ब्रह्माको आज्ञालाई पालन गरेनन् र विष्णु भक्तिमा लागिरहे। तब क्रोधमा आएर ब्रह्माजीले देवर्षि नारदलाई आजीवन अविवाहित रहने श्राप दिएका थिए।