ताजा समाचार

जेठ २ गते २०७६

लघुकथा : मोलमोलाइ

रिभा गाडीबाट झरिन् । उनी सरासर डिपार्टमेन्ट स्टोरभित्र छिरिन् । आफूलाई चाहिने खाद्यान्न सामग्रीका साथै केही कस्मेटिक सामान बकेटमा राखिन । सामानको बिल बन्यो चौबीस हजार आठ सय एक्काईस रुपैयाँ । उनले चूपचाप बिल अनुसारको सबै रकम तिरिन् र आफ्नो बाटो लागिन ।

अलिक पर पुगेपछि तरकारी किन्नुपर्ने सम्झिन् र गाडी पार्किङ्ग गरिन् । बाटो छेउमा एउटी महिला साग बेच्न बसेकी थिइन् । उनको छेउमा कुपोषणले ग्रस्त बच्चो रुदै थियो । साग बेच्न बसेकी ती महिलासँग रिभाले सोधिन्, साग कसरी हो मुठाको ?
जवाफमा साग बेच्ने महिलाले भनिन्, मुठाको साठी ।
ओहो कति महङ्गो हो ? अलि मिलाउन दिदी । मुठाको ४० गर न ?
के गर्ने मेडम उतैबाट बढेर आएको छ । हेर्नुस् न कति ताजा छ साग ।
ल ल जति ताजा भए पनि अलिकति त घटाउनु पर्यो नि ।

रिभाले केही समय लगाएर मोलमोलाइ गरिन् । १० रुपैयाँ घटाएर पचास रुपैयामा एक मुठा साग किनिन र आफ्नो नया कारतर्फ लागिन् ।