ताजा समाचार

जेठ १ गते २०७६

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ ।

दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण सुरु गरेको हो ।

दोस्रो प्याकेजअन्तर्गतको कामका लागि पूर्वाधार निर्माण तीव्रगतिमा भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक अच्युतबाबु घिमिरेले जानकारी दिए ।

सिनो हाइड्रोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानका लागि ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो ।

इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्री (सीएमएसी)सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले जेठ २६ गते (जुन ९) सम्म बोलपत्र पेश गर्ने गरी बोलपत्र आह्वान गरेको छ ।

आयोजनाबाट प्रभावित ५४७ घरधुरीमध्ये ५१९ घरधुरीलाई मुआब्जा वितरण गरिएको छ । प्रबन्धक घिमिरेका अनुसार ती घरधुरीलाई रु एक अर्ब १८ करोड मुआब्जा वितरण गरिएको र बाँकी घरधुरीलाई समेत मुआब्जा वितरणको प्रक्रिया भइरहेको छ । उनका अनुसार एक हजार ३३० रोपनी क्षेत्रफलको मुआब्जा वितरण गरिएको छ ।