ताजा समाचार

वैशाख २६ गते २०७६

किन लाग्छ हैजा ? रोकथाम र बच्ने १४ उपाय

अहिले हैजाका बिरामी देखिन थालेका छन्। सामान्य सावधानीबाट नै जोगिन सकिने समस्यामा पनि सतर्कता अपनाउन नसक्दा हरेक वर्ष हैजाका बिरामी फेला परिरहेका हुन्।

त्यस्तै अहिले काठमाडौं–१३ का ४५ वर्षीय एक पुरुषमा हैजाको जिवाणु भेटिएको छ । डापखलाको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका ती बिरामीको दिसा परीक्षण गर्दा उनमा दुषित पानीका कारण हुने हैजा भेटिएको हो।

गर्मीसँगै वर्षात् सुरु भएकाले आवश्यक सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक लालले हैजाबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर खान आग्रह गरे।

के हो हैजा ?
हैजा सरुवा रोग हो। यो भिब्रियो कलेरा नामक ब्याक्टेरियाका कारण हुनेगर्छ। यो गर्मी तथा वर्षायाममा बढी मात्रा हुनेगर्छ। यसलाई तीब्र गतिमा फैलिने संक्रामक रोगको रुपमा पनि लिइन्छ।

भिब्रियो कोलेराले आन्द्रामा संक्रमण गर्दा हैजा लाग्छ। हैजा लागेपछि धेरै पटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता भइरहन्छ। तीब्र गतिमा जलहरण हुँदा बिरामी सिथिल भएर हलचल गर्न नसक्ने अवस्थामा पुग्छ। हैजाको संक्रमण फैलने प्रमख कारक भनेको दुषित पानी नै हो।

हैजा मानिसबाट मानिसमा सर्ने सम्भावना जम्मा तीन प्रतिसत मात्र हुन्छ। यो रोग संक्रमित व्यक्तिको मलमुत्र र बान्ताबाट अरुमा सर्छ। यो रोग सर्नुमा व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छता पनि त्यत्तिकै महत्वपूर्ण छ।

लक्षण
– लगातार दिसा र बान्ता भइरहनु।
– अकस्मात र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा २०–२५ पटक हुनु।
– दिसा सुरुको अवस्थामा खैरो वा चौलानी रङको हुनु र पछि गएर दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु।
– वान्ता सुरुको अवस्थामा खाएको खानाको अंश र पछि गएर पातलो चौलानी रङको रुपमा आउनु थाल्नु।
– लगातारको दिसा र बान्ताका कारण शरीरमा पानीको कमी हुन थाल्नु र मुख, घाँटी सुक्नु र तिर्खा लागिरहनु।
– शरीरमा पानीको अभावका कारण मांसपेसी बाउँडिनु, छाला चाउरिनु, आँखा भित्र गाडिनु, गालामा खाल्डो पर्नु र पेट भित्र पस्न थाल्नु।
– पानीको कमीका कारण पिसाब कम हुनु। पछि गएर पिसाब नै बन्द हुनु।
– रक्तचाप कम र नाडीको गति बढ्नु।
– शरीरको तापक्रम कम हुन गई बिरामी हिउँ जस्तै चिसो हुनु।

रोकथामका उपाय र बच्ने उपाय
–पानी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने
–खाना खानुअघि वा दिसा गरेपछि अनिवार्य रुपमा साबुनले हात धुने
–बासी, सडेगलेको, झिँगा बसेको र खुला रुपमा राखिएका खानेकुरा नखाने
–जथाभावी दिसापिसाब नगर्ने
–चर्पी नभएमा खाल्डो खनेर दिसापिसाब गरी माटोले पुर्ने
–सडकमा तयार तथा बाहिरबाट तयार गरी सडकमा बेच्न राखिएका चिज नखाने
–घर वरिपरि किटनासक औषधि स्प्रे गरी सफा राख्ने
–पानीको स्रोत तथा भन्डारण गरिएको ठाउँ इनार, पोखरी आदि संक्रमित हुनबाट जोगाउने
–बिरामीको मलमुत्र तथा बान्तालाई घरबाट टाढा सुरक्षित स्थानमा गाड्ने
–खानेकुरा राम्ररी पकाएर मात्र खाने
–काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने
–पुनर्जलीय झोल बनाएर खाने र खुवाउने
–घरमै उपलब्ध हुनसक्ने खानेकुराहरु जस्तैः भातको माड, झोल पदार्थ, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने
–स्वास्थ्यकर्मीको निर्देशनमा औषधि खाने