ताजा समाचार

वैशाख २५ गते २०७६

महतगौंडा–टुटुंगा जोड्न झोलुंगे पुल

पोखरा १७ महतगौडाको ढुंगेसाँघु नजिकै पोखरा १५ टुटुंगा जोड्ने गरी झोलुंगे पुल निर्माण हुने भएको छ । साढे २७ लाख लागतमा बन्ने पुल बुधबार पोखराका मेयर मानबहादुर जिसीले शिलान्यास गरे ।

सेती नदीको गल्छी, प्राकृतिक रुपमा बनेको ढुंगेसाँघुको पुल, सदाशिवजी हरिहर मन्दिर लगायतका दृष्य पुलबाट हेर्न सकिनेछ । सीतापाइला सेतीनदी झोलुंगे पुल निर्माण समितिले आयोजना गरेको कार्यक्रममा मेयर जिसीले पुलले शब्दझैं २ भागलाई जोड्ने बताए । अनेक वेथितिलाई हटाउँदै काम गर्नुपरेकाले भर्खरै परिणाम नदेखिने उल्लेख गरे ।

जनताकै करबाट पुल बन्न लागेकाले यसको अनुगमन गर्ने दायित्व पनि जनताकै भएको उनको भनाइ छ । जिसीले भने, ‘तपाईले तिरेको अलिकति कर यही आयो । हामी त तपाईका प्रतिनिधिमात्र हौं । यसको रेखदेख गर्ने तपाईहरुले नै हो ।’ पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा १७ मा पर्यटक दिनभर भुल्न सक्ने गरी संरचना बनाइँदै गरेको बताए । बाटो चौडा, फम पार्क, विभिन्न पुल, मन्दिर, सेती नदी, संग्रहालय, डेभिजफल, गुप्तेश्वर गुफा जस्ता अनेक सम्पदा भएको वडालाई समृद्ध बनाउन योजना बन्दै गरेको उनको भनाइ छ ।

पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले पोखराका विभिन्न स्थानमा पुल अझै आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र वन क्याम्पसले संरक्षण गरेको वनबीचमा पनि झोलुंगे पुल आवश्यक रहेको बताए । सद शिवजी हरिहर मन्दिरक अध्यक्ष दीपक आचार्यले यो क्षेत्र आत्यात्मिक र पर्यटकीय भएकाले दुवै पक्षलाई समेटेर उचित योजना बनाउन अग्रह गरे ।
कार्यक्रममा पुल निर्माण समिति अध्यक्ष प्रेम थापा र इन्जिनियर पदम गुरुङ, उपाध्यक्ष नगेन्द्र गुरुङले पुलको विषयमा जानकारी दिए ।