उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो ।
पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ ।
सडक चौडासँगै नाली, पर्खाल र ग्राबेलको काम पनि गरिनेछ । उक्त सडकखण्ड स्तरोन्नतिका लागि सरकारले रु दश करोड बजेट छुट्टाएको थियो ।
अघिल्लो वर्ष नै सडक विस्तारको योजना रहेपनि बजेट नहुँदा काम अघि बढेको थिएन । स्थानीयवासीले सडक स्तरोन्नतिको माग गर्दै आएका थिए । थप बजेट आए आउँदो वर्ष बाँकी सडकखण्ड चौडा पार्ने काम शुरु हुनेछ । करिडोरको ३८ किमि खण्ड बागलुङमा पर्छ ।




