ताजा समाचार

वैशाख २२ गते २०७६

तनहुँका ६ विद्यालय शिक्षक अभाव भएपछि धरापमा

तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका छ सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

शिक्षक अभाव भएपछि आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिए । शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उनले बताए ।

उनका अनुसार शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । आँबुखैरेनी गाउँपालिकाभित्रका ३८ विद्यालयमा १७८ शिक्षक कार्यरत थिए । ३० अस्थायी शिक्षकमध्ये केहीले अवकाश रोजे भने केहीले परीक्षामा सहभागी भएर नाम निकाल्न सकेनन् ।