ताजा समाचार

वैशाख २० गते २०७६

पालुङटार हवाई मैदान अतिक्रमण गरि अस्पतालदेखि खेलमैदानसम्म

सार्वजनिक जग्गा हड्प्ने प्रपञ्च केन्द्रमा मात्रै नभएर जिल्लामा पनि भेटिएको छ। गोरखा जिल्लाकै एउटा मात्रै हवाई मैदान पालुङटार हवाई मैदान अहिले गौचरण तथा खेलमैदान बन्दै साघुरिएको छ ।

कति मिचिएको भन्ने यकिन नभएपनि पुर्जामा भएअनुसार जग्गा अहिले नरहेको र तीन सय १० रोपनी, तीन आना दुई पैसा एक दाम जग्गा अहिले साँघुरिएको हो ।

पालुङटार नगरपालिका उपप्रमुख पम्फा बसेलका अनुसार नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर नागरिक उड्डयनलाई जग्गा यकिन गर्न पत्राचार गरेको तर केही खबर नआएको उनले बताईन।

हवाई मैदान मिचिएको बारे गतसाता गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई पालुङटारका स्थानीयले ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रममा गुनासोसमेत गरेका थिए। गौचरन र सडकले विमानस्थलको जग्गा झनै खुम्चिएको र अतिक्रमण गर्नेलाई सहज बनाईदिएको छ।

२०४१ सालमा गोरखा अस्पतालको नाममा दर्ता भएको गोरखा नगरपालिका ६ अस्पताल मार्गको जग्गा १९ रोपनी ११ आना थियो। अहिले करिब १६ देखि १७ रोपनीमा खुम्चिएको छ। गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रमा रहेको अस्पताल आसपास अहिले ठुलाठुला घर बनेका छन्।

जिल्ला खेलकुद विकास समितिको करिब २४ रोपनीभन्दा बढि जग्गा छ। सार्वजनिक सम्पति हडप्ने प्रवृित्त पहिलेदेखि देखिएको बताउँदै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सम्बन्धित पुर्जाधनी संस्थाले विशेष चासो राख्नुपर्ने बताए।

www.nagariknews.com