आरन चलाएरै छोरालाई इन्जिनियर बनाउने एउटा बाबुको कथा

राम मण्डल
उमेरले नेटो काट्‍नै लागिसक्‍यो, राम्रोसँग आँखा देख्‍दैनन्, तर चश्‍मा लगाएरै भए पनि आँगनमा आरन चलाउँछन् उनी। यही आरन चलाएर उनले छोरालाई स्कुल पढाए, एसएलसी पास गराए, क्‍याम्पसमा इन्जिनियरिङ पढाए र सरकारी जागिरेको उच्च ओहदामा पुर्‍याए।

भनिन्छ, जहाँ इच्छा त्‍यहा उपाय। यही उखान लागू भएको छ वीरगञ्‍ज महानगरपालिकाका वडा नम्बर(३० निवासी चन्द्रिका ठाकुरको जीवनमा।

चन्द्रिका ठाकुरको उमेर ६८ वर्ष भयो। उनी अहिले पनि बिहान बेलुका तथा शरीरले भ्याएसम्म फलाम पिट्ने कार्य अर्थात आरन चलाउने गर्दछन्। आफनो पुर्ख्‍यौली पेशा अँगालेका ठाकुरले दिनरात मिहेनत गरी फलाम पिटेरै छोरालाई इन्जिनियर बनाउन भ्‍याए। ठाकुर बिहानैदेखि फलाम पिट्नमा ब्यस्त हुन्छन्।फलाम पिटेर अर्थात आरन चलाएर उनी आफ्नो तथा बाल बच्चाको समेत जिवीकोपार्जन गर्दै आएका छन्।

गाँस, बास र कपास जोडजामपछि हरेक बुवा आमाको चाहना हुन्छ, छोरा(छोरी भविष्‍यमा डाक्टर, इन्जिनियर बनोस्। सामान्‍य परिवारलाई डाक्टर इन्जिनियर पढाउनु र बनाउनु निक्कै चुनौतीको विषय बन्दै आएको छ। तर, आरन चलाएरै छोरालाई इन्जिनियर बनाउन सफल भए।

समान्य परिवार जन्मिएका ठाकुरले बाल्‍यकालदेखि नै आफ्नो पुर्ख्‍यौली पेशा आरनलाई सम्हाले। सुरुमा आरन चलाउँदा १६ वर्षका थिए उनी। त्‍यतिबेला जम्मा २५ पैसामा काम गरेको अनुभव सुनाए।

उनी भन्छन्, ‘पहिला पहिला जब म सिक्ने क्रममा थिए ५२ वर्ष अघिको कुरा गर्दैछु” ‘मान्छेहरुले मलाई २५ पैसामात्रै दिने गर्दथे।’ ठाकुर त्‍यो बेलाको अनुभव सुनाउँछन्, ‘त्यो बेला २५ पैसामा राम्रो नास्ता भने खान पाइन्थयो,अरु पछि सिक्दै गएपछि बिस्तारै पैसा पनि कमाई हुँदै गयो।’ ठाकुरले आरन चलाउन भने आफ्नो बुवा बाट नै सिकेका हुन्।आफनो बुवाले आरन चलाएको हेरेर उहासँग बसेर बिस्तारै सिक्दै जाँदा चलाउन आएको ठाकुरको भनाई छ ।

छोराले एसएलसी पास गर्दा छाती चौडा भयो
समान्य परिवार चलाउँदै आएका ठाकुरको छोरा पढाइमा सुरु देखि नै अब्बल र तेज निक्लिए। कक्षामा सुरुदेखि नै उत्कृष्ट अंक ल्याउँदै गए। चन्द्रिकाले पनि घर खर्च कटाएर छोरालाई पढ्न उत्साह थप्दै गए। बेला बेला खर्चको दुर्बलताले उनलाई नछोपेको भने होइन। तर जब छोराले उत्कृष्ट अंकसहित एसएलसी पास गर्‍यो। त्यो बेला चन्द्रिकाको छाती चौडा भयो। उनी खुसीले गदगद भए।

अब छोरालाई के पढाउने के गर्ने आफूसित भएको एक मात्र पेशा त्यसले पनि बढीसम्म घर खर्च मात्र टार्न आएका चन्द्रिका निक्‍कै अन्‍योलमा परे। तर छोराको इच्छालाई ध्यानमा राख्दै छोरालाई कर्जा लिएर भए पनि इन्जिनियरिङ पढ्नको लागि जसोतसो कलेजमा नाम लेखाएको चन्द्रिकाले बताए। उनी भन्छन्, ‘कर्जा लिएपछि तिर्नु पनि पर्‍यो। त्यही भनेर एकाबिहानै आरन लिएर चन्द्रिका ठाकुरले राति अबेरसम्म पनि काम गर्न थाल्नु ‘

केही वर्षमा नै छोरा ईन्जिनियर बन्न सफल भयो ,अहिले कुनैपनि कर्जा बाँकी राखेको छैन सबैलाई तिरिसकेको छु चन्द्रिका मुस्कुराउदै भन्छन्।अहिले त छोराको जागिर पनि सरकारी भएको छ।अहिले कुनै समस्या छैन।’आखिरमा दुस्ख गरेपछि सुख पाइदो रहेछ’। चन्द्रिकाले भने।

आरन चलाउँदा झण्डै आँखा गुम्‍यो
आरन अलाउन कठिन मात्रै नभई जोखिमयुक्त पनि रहेको चन्द्रिकाको भनाइ छ। आरन चलाउँदै गर्दा फलामाको टुक्राले आँखामा लागेर झण्डै आखा नै गुमाउन पुगेको सम्झना अहिले पनि उनको दिमागमा ताजा भएर आउँछ।

उनी त्‍यो क्षण सम्झिँदै भन्छन्, ‘एकदिन बिहानै आरन चलाउँदै थिए’ ठाकुरले भने, ‘अचानक फलामको टुक्रा उछ्ट्टिएर आँखामा गएर लाग्यो।आँखाबाट रगत समेत आयो।’ पछि डाक्टरसँग चेक गराउन जाँदा अप्रेसन गर्नुपर्छ भन्यो, अप्रेसन पनि गराए तर डाक्टरले त्यसपछि पनि आँखाले हेर्न सक्नु हुन्छ कि हुन्‍न भनेर कुनै ठेकान गर्न सकेनन।

‘झण्डै आँखाका सेतो भागमा चोट लागेको रहेछ” “चन्द्रिका भने“,कालो भागमा चोटले छोएको थिएन ,“अनि आँखा बच्यो पछि हेर्न पनि थाले“।आखामा चोट लागेपछि एक वर्ष त आरन नै नचलाएको चन्द्रिकाले बताए । घरमा आराम गरेर बसे थुप्रै मानिसहरु फलामको विभिन्न कामहरु लिएरर घरमा आउथे ।तर आँखामा चोट लागेपछि एक वर्ष काम गर्न नसकेको उनले बताए ।आरन चलाउँदा कम्तीमा पनि ५० डिग्रीको तापक्रमा बसेर निरन्तर काम गर्नुपर्ने हुन्छ ।

छोरा सरकारी जागिरे, बुवा अझै आरन चलाउँछन्
चन्द्रिकालाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म आफूलाई काम नै नगरेको जस्तो लाग्ने गरेको बताउँछन्।उनी भन्छन्, ‘अहिले त छोरा(बुहारी भइसक्‍यो। छोरो ईन्जिनियर हो। तर के गर्ने काम भनेको काम हो। यो त गर्नु पर्‍यो नि।’

उनी कामलाई पूजा ठान्छन्। कर्म नगरी कसैले पनि त्‍यसै जीवन बिताउन नहुने उनको भनाई छ। उनी भन्छन्, ‘ काम नगरी त खाना कसरी खानु। काम गर्ने बानी नै लागेको छ, जबसम्म आरन चलाउँदिन। केही गर्ने मन लाग्दैन।तर अब पहिला जस्तो स्वास्थ्यले साथ दिँदैन।’

उनी ५० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार पार्दै आएका छन्। तामा र फलामका सामग्रीलाई कुँदेर आकर्षक रुपमा विभिन्‍न सामग्री बनाएर उनले मासिक हाल मासिक २० हजारसम्म आम्दानी गर्ने गरेका छन्। तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाउँदै आएका छन्।

उनी भन्छन्, ‘कामलाई हेला गर्नु हुन्‍न। सच्चा दिलले गर्‍यो भने एक दिन त्‍यही कामले दाम, नाम र इनाम दिलाउछ।दिल खुस गराउँछ।’